रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब १३३ रनले विजयी, वेष्टर्न पराजित

सुरुवाती ब्याटिङ गरेको  बुद्धले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ३५ रन जोडेको थियो ।  उसका लागि विपिन रावलले ५६, सुरज पौडेलले २८, विपिन खत्रीले २७ रनको योगदान दिए । बलिङमा वेष्टर्नका प्रतिष जिसीले ३ र नरेन साउदले २ विकेट लिए ।

२३६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको वेष्टर्नले २५ दशमलव।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन मात्र बनायो । लक्ष्य पार गर्न नसकेपछि हार व्यहोरेको वेष्टर्नका लागि अनिल शाहले २६, विक्रम भुसालले १९ र सौरभ खनालले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

बलिङ तर्फ बुद्धका विपिन खत्री र अमित अग्रहरीले ३–३ तथा रुपेश कुर्मी र सुभाष भण्डारीले समान २–२ विकेट लिए।आइतबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच भई पुरस्कृत भएको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए। 

शनिबारबाट सुरु भएको  सुपर फोरमा रुपन्देहीका ४ टिम डिभिजन ए बाट उक्लेका छन्।सोमबार एमसीसी क्लब र बुद्ध क्रिकेट क्लब बिच प्रतियोगिता हुने संघका सचिव गुरुङले जानकारी दिए।नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ। सुपर फोरमा उक्लेका ४ समूहका ४ टिमहरूबीच लिगको आधारमा प्रतियोगिता हुँदैछ। 

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2022-03-20 17:54:00

प्रतिकृया दिनुहोस्