समाचार खण्डन गर्न झापाको कनकाईले पत्रकारलाई पैसा बाँढ्यो

सन्ताेष विष्ट

बिर्तामोड

झापाको कनकाई नगरपालिकाले गल्ती ढाकछोप गर्न पत्रकारलाई पैसा बाँडेर समाचार लेखाएको पाइएकाे छ। आइतबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले १९ जना पत्रकारलाई पैसा बाँडेको हो।

पत्रकार सम्मेलनमा सहभागी एक पत्रकारले नगरपालिकाले सबै पत्रकारलाई १/१ हजार उपलब्ध गराएको जानकारी दिए। पत्रकार सम्मेलनमा बिर्तामोडसहित स्थानीय पत्रकार सहभागी थिए।

कनकाई नगरपालिकाले कृषि रोजगारीका लागि कोरिया गएका १६ जना युवाबाट गैरकानूनी रुपमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि मेयर राजेन्द्र पोखरेलले समाचारको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

नेपाल विद्यार्थी संघ र तरुणदलका कार्यकर्ताले मेयर पोखरेलले गैरकानुनी रुपमा रकम असुली गरेको भन्दै विरोध प्रर्दशन गरेका छन्। उनीहरुले मेयर पोखरेलको राजीनामा माग समेत गरेका छन्।

कोरिया जान ८० हजार लागत लागे पनि नगरपालिकाले प्रतिव्यक्ति ३ लाख ८० हजार रुपैयाँ उठाएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ।

कनकाई नगरपालिका र कोरियास्थित गोइन्क्यू नगरपालिकाबीच सम्झौता भएको र सम्झौता बमोजिम कोरियाले कृषि मजदुर लगेको बताइएको छ।
तर, नगरप्रमुख पोखरेलले बीड इन्टरप्राइजेट मार्फत् कोरिया जाने युवाहरुबाट मोटो रकम असुलेको भन्दै स्थानीय युवाले नगरपालिकाको कार्यालयमा नारावाजी गरेका थिए।

कोरिया गएका कनकाई नगरपालिका– ८ का दिनेश न्यौपाने कोरियामा स्वास्थ्य परीक्षण गर्दा फेल भएपछि उनी नेपाल फर्किएका थिए। उनी नेपाल फर्किएसंगै घटना सार्वजनिक भएको हो।

सोही घटनाको सन्दर्भमा मेयर पोखरेलले पत्रकार सम्मेलन गर्दै कोरिया गएका कृषकका लागि सहजीकरण मात्रै गरेको दावी गरेका छन्।

प्रकाशित मिति: : 2022-03-21 09:10:00

प्रतिकृया दिनुहोस्