लेटाङमा लगाइएको कर्फ्यु खुकुलो बन्दै (तस्बिरहरू)

प्रशासनले लेटाङमा लगाइएको कर्फ्यु खुकुलो केही खुकुलो बनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा बुधबारदेखि बिहान १० बजेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यु लगाइएको छ।

बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म हिँडडुल गर्न सकिने सूचनामा उल्लेख छ। यो आदेशसँगै स्थानीयले राहत महसुस गरेका छन् भने लेटाङको दिनचर्या सामान्य बन्दै गएको छ।

स्थानीय एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण आइतबार बेलुका एक प्रहरीको हत्या भएको थियो।

भीड नियन्त्रणमा पुगेकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। उनीमाथि घरेलु हतियार तथा सिसा प्रहार गरिएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा जानकारी लिन सोमबार दिउसो मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित प्रदेश १ का प्रहरी प्रमुख अरुण कुमार बिसी र मोरङका प्रहरी प्रमुख जनार्दन जिसि सहितको टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलको निरीक्षणपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थिति नियन्त्रणमा लिनका लागि जारी गरिएको कर्फ्युलाई सहजीकरण गरी व्यवस्थापन गर्नेतर्फ आफूहरू लागि परेको जानकारी गराए।

कानुन हातमा लिने प्रयास गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने उनले दाबी समेत गरेका छन्।

प्रमुख जिल्ला अधिकारी दाहालले आफ्नो क्षति सहेर भए पनि प्रहरीले संयमयता अपनाएको बताए। आगामी दिनमा यस्ता प्रकारका घटना हुन नदिन प्रहरी सचेत भएर लाग्ने पनि उनले उल्लेख गरे।

प्रकाशित मिति: : 2022-03-23 14:55:00

प्रतिकृया दिनुहोस्