नेपालमा लालीगुँरास : ४३ जिल्लामा ३४ प्रजाति

 

रोयल बोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसको १ हजार ७३ प्रजाति छन्। तीमध्ये एक प्रजाति लालीगुराँसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो। गुराँस जातिअन्तर्गत लालीगुँरास सबैभन्दा अग्लो रुख हुने प्रजाति हो। यो प्रजाति पाकिस्तान, भारत, नेपाल, श्रीलंका, तिब्बत, भुटान, म्यान्मार, भियतनामसहित म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिणपूर्वी क्षेत्र युनानमा प्रचुरतम मात्रामा पाइन्छ।

विभिन्न अभिलेखबाट नेपालमा अहिलेसम्म गुराँसको ३४ प्रजाति छन् भन्न सक्ने अवस्था छ। तीमध्ये सबैभन्दा प्रचुर मात्रामा पाइने लालीगुँरास हो। यो समुद्री सतहबाट १२ सयदेखि ३५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ। नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयले २०७५ सालमा जारी गरेको गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) अनुसार गुराँस ४३ जिल्लामा पाइन्छ।

लालीगुँरास ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा हुँदै सोलुखुम्बु, दामन–सिमभन्ञ्याङ, घोडेपानी, लमजुङ, म्याग्दी, बागलुङ, रुकुम, मुस्ताङ, मुुगु, हुम्ला, डोल्पा, जुम्ला, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, बैतडी आदि जिल्लामा बढी मात्रामा पाइन्छ। यो प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेँलो आदि रङमा फुल्छ। भौगोलिक सतह कम उचाइ र पारिलो घाम भएको ठाउँमा पुस महिनाबाटै फुल्न सुरु हुन्छ। ३४/३५ सय मिटर उचाइमा भने असारसम्म फुल्छ। त्यो उचाइमा यसको बोट पोथ्रा जत्रो हुन्छ।

प्रकाशित मिति: : 2022-03-26 10:35:00

प्रतिकृया दिनुहोस्