काे बन्ला पोखरा महानगरपालिकाको मेयर ? यी हुन् आकांक्षी

Breaknlinks
Breaknlinks

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा, नगर प्रमुख पदका लागि आंकाक्षीहरु बढी रहेका छन्। आउँदो स्थानीय तह निर्वाचनका लागि कस्तो नेतृत्व चुन्ने विषयमा बहस र पैरवी चलिरहेको छ।

देशव्यापी स्थानीय तह चुनावको रन्को चलिरहँदा पोखरामा पनि मेयर पदका आंकाक्षी दर्जन बढी पुगिसकेका छन्। देशकै ठूलो भूगोल भएको महानगर पनि हो, पोखरा।

स्थानीय तह निर्वाचनका लागि मिति तोकिएको केही समयमै नगर प्रमुखको रुपमा गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि भने पोखरामा नगर प्रमुखका आंकाक्षी पनि त्यही मेयर बन्ने दौडमा निस्किए। पौडेलले अटेरी अभियान नाम दिएर सुरुआत गरेको अभियान अहिले देशव्यापी बन्न पुगेको छ। 

स्थानीय तह दलरहित बनाउनुपर्ने विशेष जोडसहित सुरु भएको यो अभियानमा अहिले देशभर धमाधम उम्मेदवारी घोषणा भइरहेको छ। नयाँ अनुहारहरुको यो अभियानसँगै राजनीतिक दलका आंकाक्षीहरु पनि बढ्दै छन्।

एमालेका आंकाक्षी 

२०७४ सालको चुनावमा पोखरा महानगरको नेतृत्व गर्ने जिम्मेवारी नेकपा (एमाले)का मानबहादुर जिसीले पाए। नगर उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी भइन्।

अहिलेका मेयर मानबहादुर जिसी चाहेर पनि नगर प्रमुखमा दोहोरिने दौडमा होमिन सक्ने अवस्था छैन। उनको विकल्पमा अहिले एमालेबाट नगर प्रमुखको रुपमा बढी सुनिएको नाम उपप्रमुख मञ्जुदेवी गुरुङकै हो। उनी पछि एमालेमा होटल सञ्चालक र हाइड्रो सञ्चालकदेखि पूर्व मेयरसम्म उम्मेदवारका आंकाक्षी देखिएका छन्।

एमालेबाट मेयरमा पूर्व मेयर तथा हालका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, भीम कार्की र मञ्जुदेवी गुरुङको नाम बढी चर्चामा छ।

थपा यसअघि २०५४ सालमा तत्कालीन पोखरा उप महानगरपालिकाका मेयर थिए। 

मेयर पदका लागि एमालेबाट मञ्जुदेवी गुरुङ, भरत पहारी, कृष्णबहादुर थापा र भीम कार्की अहिले सुनिएका आंकाक्षी हुन्। 

कांग्रेसका आंकाक्षी 

नेपाली कांग्रेसबाट हालसम्म मेयर पदका लागि बढी सुनिएको नाम तत्कालीन कास्की कांग्रेस सभापति कृष्ण केसीको हो। बहालवाला मन्त्री बिन्दुकुमार थापा पनि आंकाक्षीको रुपमा सुनिए पनि उनले पार्टीले चाहेको खण्डमा मात्रै मेयर पदमा उभिने बताई सकेका छन्।

बिन्दुपछि अघिल्लो चुनावमा उपमेयर पदमा हारेकी सरस्वती गुरुङ, बाबुराम आचार्य छन्। नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य पनि कांग्रेसबाट मेयर पदका लागि टिकट दाबेदार हुन्।

हालका कास्की कांग्रेस सभापति किशोरदत्त बराल पनि उम्मेदवार बन्न इच्छुक छन्। महिला नेतृ कांग्रेस प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, माया बराल, लक्ष्मी पाण्डे पनि मेयर पदका आंकाक्षी हुन्।

माओवादीका आंकाक्षी

पोखरा महानगर प्रमुखमा माओवादीबाट बढी सुनिएको नाम बखानसिंह तमु, विश्वप्रकाश लामिछानेको हो। बखान माओवादीको कास्की समन्वय समिति संयोजक समेत हुन्। विश्वप्रकाश पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष हुन्।

तर, गठबन्धन भएको खण्डमा माओवादीले मेयर पदको दाबी छोड्ने कि कांग्रेसले ? त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: : 2022-04-04 16:53:00

प्रतिकृया दिनुहोस्