घोराहीकाे मेयर काँग्रेसले नपाए गठबन्धन टुट्न सक्छ : डाँगी

Breaknlinks
Breaknlinks

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी माहोलले थप चर्चा पाउँदै गइरहेको छ। दाङमा पनि चुनावी माहोल बढिरहेको छ।

राजनीतिक पार्टीहरुले घरदैलाे अभियानलाई तिब्र दिइरहेका छन्। दाङमा दुई उपमहानगरपालिका भएकाले पनि चुनावी महोल थप तातिएको हो। नेकपा (एमाले)ले प्राय: वडा तथा नगर, गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंग्याएको छ। पाँच दलीय गठबन्धन पनि उम्मेदवारको नाम टुंगो लगाउने काममा व्यस्त छ।

विशेष गरेर दाङको घोराही र तुलसीपुर उपमहनगरपालिकामा निर्वाचन गतिविधिले तिब्रता पाइरहेको छ। कहाँ कसले टिकट पाउने भन्ने चौतर्फी चर्चामा छ। गठबन्धनका दलहरूमा के हुने भन्ने विषयको चर्चा पनि उत्तिकै छ।

यसबीचमा घोराहीलाई अझ विशेष गरेर हेरिएको छ। घोराहीमा गठबधनका विरुद्धमा एमाले एक्लै लड्ने कसरतमा छ। तर, गठबन्धनभित्र पनि काँग्रेस र माओवादीले आफ्नो पार्टीले मेयर पाउनुपर्ने दाबी गरिरहेका छन्।

काँग्रेसबाट घोराहीमा मेयरका लागि दाङ क्षेत्र नं २ का पूर्व काँग्रेस सभापति भुपबहादुर डाँगीको नाम सिफारिस भइसकेको छ। उनीबाहेक काँग्रेसले अरुको नाम सिफारिस गरेको छैन। माओवादी केन्द्रले भने अझै पनि नाम सिफारिस नगरेको माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले बताए।

माआवादीले मेयरमा कसैको नाम सिफारिस नगरे पनि मेयर आफूहरुले पाउनुपर्ने दाबी गर्दै आइरहेको राजनीतिक वृत्तमा चर्चा छ। विशेष गरेर दाङको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको भन्दै अघिल्लो ०७४ को निर्वाचनमा मेयरमा पराजित भएका जीवन गौतमको नाम मेयरका लागि चर्चामा छ।

काँग्रेस र माओवादीले मेयरमा दाबी गरिरहँदा काँग्रेसबाट मेयरका लागि सिफारिस भएका डाँगीले आफूहरुले नै मेयर पाउने पर्ने बताए। उनले पार्टीले सर्वसम्मत रुपमा आफ्नो नाम सिफारिस गरेको भन्दै माओवादीले उपमेयर लाग्नुपर्ने बताए।

यदि माओवादीले मेयरमा आफ्नो दाबी छाडेन भने गठबन्धन टुट्न सक्नेसम्मको स्थिति आउन सक्ने डाँगीले बिएल नेपाली सेवासँग बताए।

माओवादीको पनि मेयरमै दाबी छ नि भन्ने प्रश्नमा उनले भने,‘उनीहरुले दाबी नै छाडेनन् भने गठबन्धन हुँदैन। टुट्न पनि सक्छ।’

यता माओवादी केन्द्रका दाङ जिल्ला संयोजक पुनले कहाँ कसले के पाउने भन्नेमा पार्टी नेतृत्वले नै भन्ने हुँदा यस विषयमा धेरै भन्न नसकिने बताए।

‘महानगर र उपमहानगरमा पार्टीले नै निर्णय गर्ने भन्ने छ। साहीअनुसार हामी पनि जाने हो,’ पुनले भने।

प्रकाशित मिति: : 2022-04-15 18:33:00

प्रतिकृया दिनुहोस्