गणेशमान सिंह बक्सिङ मंगलबारदेखि सुरु

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ। 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ।

काठमाडौंको वसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए।

 ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने, ‘हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियललाई स्वागत गर्न आतुर छौं।’

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष/चार महिला, मधेश प्रदेशबाट सात पुरुष/पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष/तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। 

यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष/तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष/चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष/चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष/पाँच महिला, एपीएफबाट सात पुरुष/पाँच महिला र नेपाल पुलिस क्लबबाट चार पुरुष/दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन्। यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन्। 

यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-18 18:44:00

प्रतिकृया दिनुहोस्