म्यान्मारका नेपाली कलाकार रावललाई मानश्री पुरस्कार

File Photo
File Photo

म्यान्मारका वरिष्ठ कलाकार थानबहादुर रावललाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ।

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ।

विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मिएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभिनय गरेका छन्।

यसअघि प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल (२०५८), नाटककार अशेष मल्ल (२०५९), गजलकार ज्ञानुवाकर पौडेल (२०६०), साहित्यकार मञ्जुल (२०६१), कथाकार मधुवन पौडेल (२०६२), कवि विष्णुविभु घिमिरे (२०६३), कवि कृष्णभूषण बल (२०६४), कथाकार भुवन ढुङ्गाना (२०६५), कथाकार सनत रेग्मी (२०६६), कवि विजय बजिमय (२०६७), समालोचक डा रामदयाल राकेश (२०६८), कथाकार डा वेञ्जु शर्मा (२०६९), चित्रकार किरण मानन्धर (२०७०), कलाकार नीर शाह (२०७१), गायक दीप श्रेष्ठ (२०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (२०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (२०७४), गायक भक्तराज आचार्य (२०७५), कलाकार हरिवंश आचार्य (२०७६), साहित्यकार सरुभक्त (२०७७) र गायिका मीरा राणा (२०७८)लाई प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2022-04-20 10:19:00

प्रतिकृया दिनुहोस्