१० गुणा बढी फैलिने ‘एक्स ई’ भाइरसबाट नेपाल कति जोखिममा ?

शिलापत्र

दिनेश गौतम

छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ देखियो । एक्स ई भेरियन्ट १० गुणा बढी फैलिने विज्ञहरूको दाबी छ । ‘यो भेरियन्ट छिटो फैलिने क्षमताको छ । १० गुणा बढी फैलिने देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।  तीन महिनाको अवधिमा भारतमा ‘आर भ्यालु’ पनि एकभन्दा बढी देखिएको छ । आर भ्यालु बढी देखिनु भनेको जोखिम पनि बढ्नु हो । ‘आर भ्यालु जति धेरै भयो, त्यति जनालाई सर्ने र संक्रमण फैलिने जोखिम हुन्छ,’ डा. पुन भन्छन् ।  

नयाँ भेरियन्टसँगै संक्रमणको ग्राफ पनि भारतमा उकालो लागेको छ । बुधबार २०६७ जना नयाँ संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या १२ हजार पुग्यो । भारतमा संक्रमण फैलिँदा नेपालमा पनि जोखिम बढेको विज्ञहरू बताउँछन् । ‘भारतमा देखिएपछि नेपाललाई पनि हिट गर्ने विगतको अनुभव छ । तर, कुन भेरियन्ट फैलिएर संक्रमण बढाउन मद्दत गरेको छ, त्यो महत्त्वपूर्ण हुन्छ,’ डा. पुन भन्छन् । 

भारतमा हाल ओमिक्रोनबाट बनेको बीए १ र बीए २ फैलिएको छ । बीए १ र बीए २ मिलेर बनेको ‘एक्स ई’ भेरियन्ट पनि फैलिने क्रममा छ । यसरी दुई वा दुईभन्दा बढी भाइरस मिलेर बनेको नयाँ भेरियन्ट हाइब्रिड भएको बताउँछन् डा. पुन । ‘एउटै व्यक्तिलाई दुई वा दुईभन्दा बढी भाइरसले संक्रमण गरेमा हाइब्रिड भाइरस बन्छ,’ उनी भन्छन् । 

प्रकाशित मिति: : 2022-04-20 22:00:00

प्रतिकृया दिनुहोस्