शोधनान्तरमा रुमलिएको अर्थतन्त्र

आयात आफैंमा समस्या होइन । माग नियन्त्रणभन्दा बाहिर गएको अवस्थाको उपज नै आयात हो ।

आर्थिक वर्ष २०७८/०७९ आठौं महिनाको १३०८ अर्बको आयातलाई आधार मान्दा यस वर्षको आयात १९६३ अर्ब सहजै पुग्ने देखिन्छ। रसिया युक्रेन आक्रमणले निम्त्याइरहेको अकासिँदो इन्धन, फलाम, खानेतेललगायतका सामानको मूल्यवृद्धिले आयात थप बढ्ने देखिन्छ। निर्यात, विप्रेषण र पर्यटन क्षेत्रमा सुधारको झिनो आशा रहे पनि यस वर्ष विदेशी विनिमय सञ्चितिमा सुधार आउने स्थिति छैन। सञ्चिति घट्दै जाँदा बैंकमा तरलताको समस्या देखिँदै गएको छ। थप नयाँ ऋण विस्तार भने हुन सकेको छैन। यद्यपि, निजी क्षेत्रतर्फको कर्जा विस्तार २५.१ प्रतिशत छ। यो १९ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्यभन्दा धेरै माथि छ।

पुँजी निर्माणको प्रमुख स्रोत रहेको बैंक ऋण संकुचनमा जाँदा आर्थिक वृद्धिमा समेत नकारात्मक प्रभाव पर्न जान्छ। सञ्चिति र तरलतामा एकैपटक समस्या देखिँदा केन्द्रीय बैंकले स्थायी तरलता सुविधामार्फत तरलतालाई स्थान दिइरहेको अवस्था छ। बैंकले निक्षेप, दीर्घकालीन ऋण र पुँजीबाट मात्र कर्जा विस्तार गर्नुपर्छ। पुँजी निर्माणका लागि दीर्घकालीन कर्जा आवश्यक पर्छ। व्यापार, सेयर, पुनः बिक्री गर्ने प्रयोजनले किनिने घरजग्गाजस्ता छिटो कमाइ हुने क्षेत्रमा मात्र अल्पकालीन कर्जाको माग हुन्छ। केन्द्रीय बैंकबाट प्रदान हुने अल्पकालीन तरलता सुविधाले अल्पकालीन कर्जा घट्न सकेको छैन।

प्रकाशित मिति: : 2022-04-22 18:04:00

प्रतिकृया दिनुहोस्