पहिलो भिक्टोरिया क्रस (भिसी) उपाधी प्राप्त गर्ने गोरखा सैनिक कुलविर थापाको कथामा बनेको चलचित्र 'गोरखा विनिथ द व्रेभरी' न्यूयोर्कमा प्रदर्शन गरिएको छ।
भिसी विजेता थापाले पहिलो विश्व युद्धमा देखाएको वीरताको सत्य घटनामा आधारित चलचित्र 'गोरखा विनिथ द व्रेभरी'को प्रिमियर शो फ्लसिङको बम्वई थिएटरमा प्रदर्शन गरेको हो।
विश्व युद्धमा नेपालीले गोरखा सैनिकको रूपमा देखाएको वीरता गाथामा व्यवसायिक चलचित्र बन्न सक्छ र बनाउनुपर्छ भन्ने लागेर पुर्खाहरूको योगदान समेटेर चलचित्र निर्माण गरेको निर्देशक प्रदीप शाहीले बताएका छन्।
पहिलो अन्तराष्ट्रिय प्रिमियर शो अमेरिकी नेपाली समुदायको बीच गर्न पाउँदा खुशी लागेको बताउँदै निर्देशक शाहीले भने, 'चलचित्रमार्फत नेपाललाई विश्वमा चिनाउने प्रयास हो। चलचित्रको प्रवद्र्धनका लागि प्रचारप्रसारमा सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु।'
त्यस्तै, प्रोड्युसर मधु गुरूङले चलचित्र प्रदर्शनका लागि नेपाली समुदायको साथ र सहयोगप्रति धन्यवाद दिंदै गोरखाहरूले समानताको लागि लडेको आन्दोलनमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन्। उनले भनिन्, 'पुर्खाहरूको इतिहासलाई चलचित्रको रूपमा ल्याउन तीन वर्ष लागेपनि अहिले चलचित्र विभिन्न मुलुकमा प्रदर्शन गर्ने क्रममा दर्शकको उपस्थिति र सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको छ। जसले हामी चलचित्र निर्माता टिमलाई उर्जा थपेको छ।'
चलचित्रका अभिनेता समीर गुरूङले अमेरिकामा पनि नेपालीहरूको उपस्थिति र सहयोग पाउँदा आफूलाई गर्व लागेको बताएका छन्। चलचित्र प्रदशनीपछि कार्यक्रममा 'द गुरूङ तमु सोसाइटी इंक'का संस्थापक अध्यक्ष तुलसी गुरूङ, सोसाइटीका अध्यक्ष तोरण गुरूङल तथा तमु महिला दिदी बहिनीको समूहको तर्फबाट सिद्धार्थ गुरूङ, पार्वती गुरूङ तथा चन्दा गुरूङले निर्देशक शाही, प्रोड्युसर मधु गुरूङ र अभिनेता समीर गुरूङलाई फेटा तथा सल ओढाएर सम्मान गरेका थिए।
लाइटआउट एन्टरटेन्मेन्टको आयोजनामा भएको प्रिमियर शो पहिले रेड कार्पेट आयोजना गरिएको आयोजक ओम गुरूङले जानकारी दिएका छन्। शो अन्तर्गत अवार्ड विजेता लेखक तथा निर्देशक प्रदिप शाही, प्रोड्युसर मधु गुरूङ, प्रमुख अभिनेता समीर गुरूङसँग दर्शकहरूले प्रत्यक्ष भेटघाट गरी फोटो लिन सकिने व्यवस्था मिलाइएको आयोजक मध्यका अन्जित गुरूङले जानकारी दिएका छन्।
चलचित्र प्रदर्शनपछि दर्शकहरूले चलचित्रले गोरखाहरूको योगदान समेटेको राम्रो भएको प्रतिक्रिया दिएका छन्। चलचित्र हेर्न हल पुगेकी गायिका आस्था राउतले नेपालीले गर्व गर्न लायकको चलचित्र बनेको प्रतिक्रिया दिइन्। नेपाली मात्र नभएर विदेशी नागरिकहरू समेत चलचित्र हेर्नका लागि हल पुगेका थिए। छोटो समयको बिच चलचित्र प्रदर्शन गरे पनि लगभग १ सय ७० जना दर्शकहरू सहभागी थिए। नेपालीको गौरव, साहस र सदभावको कथा समेटेर बनाएको चलचित्र १ घण्टा १५ मिनेट लामो छ।
प्रिमियर शोबाट उठेको सम्पूर्ण रकम गोरखा कल्याणकारी कोषमा डोनेट गरिने आयोजकले जनाएको छ। एसएचवाइ प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायांकन बेलायतमा गरिएको हो। चलचित्रको प्रिमियर शो यस अघि बेलायतमा गरिएको थियो। गोरखालीहरूको बहादुरी, करूणा र मित्रताको सन्देशलाई चलचित्र मार्फत विश्व सामु पुर्याउने मद्धत पुग्ने बताउँदै आयोजक गौतम गुरूङले चलचित्रलाई अमेरिकाका विभिन्न शहरहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन्। चलचित्र नेपाल, सिंगापुर, अष्ट्रेलिया लगायत देशमा पनि प्रदर्शन गर्ने योजना रहेको निर्माता टिमको भनाई छ।