धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक र उनका छोरा मिलेर विद्यालय परिसराबाट करोडौंको बालुवा बचेके छन्। विद्यालयको जमिन तथा खेल मैदानबाट बालुवा उत्खनन् गरेर प्रधानाध्यापक लालबहादुर विक र उनका छोरा रमेश विकले चार करोड २० लाखभन्दा बढीको बालुवा बेचेका हुन्।
स्थानीयका अनुसार अहिलेसम्म लगभग ६ हजारभन्दा धेरै ट्रिप बालुवा निकालिएको छ। विद्यालय व्यवस्थापन समितिका एकजना सदस्यका अनुसार उनीहरूले प्रतिट्रिप प्राप्त हुने रकमध्ये २ हजार १०० रुपैया विद्यालयको कोषमा जम्मा गर्ने बाचा गरेका थिए। तर अहिले सबै पैसा आफ्नै व्यक्तिगत खातामा राखेका छन् र विद्यालयलाई दिएङ्का छैनन्।
विद्यालय परिसरबाट बालुवा निकालेपछि अहिले विद्यालयको खेल मैदान पूर्ण रूपमा भताभुङ्ग भएको छ। जहाँ अघिसम्म विद्यार्थीहरू नियमित रूपमा विभिन्न खेलकुद गतिविधिमा संलग्न हुन्थे, अहिले बालुवा उत्खननपछि मैदान तहसनहस भइसकेको छ। यो बालुवा तस्करीका लागि प्रअ बिकले विद्यालय व्यवस्थापन समितिमा आफ्नामात्रै मान्छेहरू राखेका छन्। ती लगभग सबैजसो गैरअभिभावक हुन्। स्थानीय अभिभावकहरूका अनुसार अहिले समितिमा रहेका कुनै पनि व्यक्तिका छोराछोरीले त्यो विद्यालयमा पढ्दैनन्।
विद्यालयको नाममा रहेको किता नं. ६/ग ५१५ अन्तर्गतको सार्वजनिक जग्गाबाट ६,००० भन्दा बढी ट्रिप बालुवा र ढुङ्गा चोरी निकासी गरिएको छ। प्रत्येक ट्रिपमा रु १,०५० को दरले तिर्नुपर्ने राजस्वअनुसार कुल रु ६३,००,००० बराबरको राजस्व पनि उनीहरूले तिरेका छैनन्। त्यस्तै विद्यालय परिसरमै रहेका खयर जातका दर्जनौं रुखहरू समेत कटान गरी बेचिएको पाइएको छ।
स्थानीयका अनुसार अवैध कारोबारको जानकारी पाएपछि सिद्धलेक गाउँपालिकाले मिति जेठ २५ गते जिल्ला प्रशासन कार्यालय, धादिङमा पत्राचार (च.नं. ३५८०) गर्दै कारबाहीको माग गरेको थियो। तर, गजुरी इलाका प्रहरी कार्यालयका डिएसपी विकास थापा नै उनीहरूको बचाउमा उत्रिएका छन्। रमेश विकले कांग्रेस नेताहरू प्रकाश रसाइली र मीन विश्वकर्माको नाम प्रयोग गर्दै डीएसपीलाई प्रभावित पारिरहेको स्थानीयको दाबी छ।
रमेश विक र तरुण दल क्षेत्रीय सभापति विशाल भनिने रुद्रबहादुर गिरि को मिलेमतोमा गाउँपालिकाले पृथ्वीराजमार्ग–आदमटार सडक ढलानका लागि छुट्याएको रु ८ लाखको बजेट समेत दुरुपयोग गरिएको खुलासा भएको छ। उनीहरूले चालू सडक भत्काएर निजी स्वार्थअनुसार अर्को ठाउँबाट सडक बनाउन डोजर प्रयोग गरेका थिए। स्थानीयका अनुसार उनीहरूविरुद्ध उजुरी गर्ने तथा विरोध गर्नेहरूलाई उनीहरूले धम्की दिँदै आएका छन्।
प्रअ लालबहादुरका छोरा रमेश बिक नेपाली काँग्रेस महासमिति सदस्य हुन्। त्यस्तै बाउछोराको यो अनियमिततामा नेपाली काँग्रेसका स्थानीय नेता रामशरण गिरी, वडाअध्यक्ष, सानो गिरि, स्थानीय बाघमारा वन उपभोक्ता समितिका अध्यक्ष सिताराम गिरि र तरुण दल क्षेत्रीय सभापति विशाल विशान भनिने (रुद्रबहादुर) गिरिसमेतले साथ दिँदै आएको स्थानीयवासी बताउँछन्।