लागुऔषधकाे दलदलबाट आफूलाई बचाएर अरुलाई बचाइरहेका राजुकाे कथा
केही सुँघेजस्तो, केही फुकेजस्तो। बस्, त्यत्तिमै सब संसार थियो। स्वर्ग कस्तो होला, नर्क कस्तो होला? उनीहरूका लागि बस् त्यही स्वर्ग थियो।
जब केही ‘डोज’ पाउँदैनथे अनि लाग्थ्यो, कस्तो नर्कजस्तो जिन्दगी! साथीभाईको लत थियो। जब राजु पनि त्यो दुनियाँमा छिरे अनि त्यो साँच्चिक कुलत बनिदियो।
ड्रग्सले उनलाई यसरी थिच्दैथिच्दै लग्यो कि, उनको सारा सपनाहरू किचिएछन्। सारा रहरहरू त्यही लतमा बिलाएछन्। कुनै बेला उनी झस्किन्थे, आफूले आफैलाई देखेर। आफैलाई सम्झेर, छुटिगएका साथीभाइहरू सम्झेर।
छुटेका रहर, सपना अनि हिँडिआएको कुलतको त्यो बाटो सम्झेर। र, पनि एउटा रहर अझै ज्यूँदै थियो राजुसँगै जसले उनलाई सुधारगृहसम्म पुर्यायो। अनि त्यहिँ उनका फेरि जिन्दगी जिउने रहरका कैयौ पालुवाहरू अंकुराउन थाले। अनि फेरि राजु यही समाजमा फुल्न थालेका छन्। कुलतले ओइलाउन लागेका जीवनमा फेरि ‘सञ्जीवनी’ भर्दैछन्।
बसन्तपुरका गल्लीमा साथीहरू लुकेर केही धुलाेजस्ताे, पाउडर सुँघिरहेका हुन्थे।
राजु भने उनीहरूकाे ‘गार्ड’जसरी बस्थे। कसैले देख्छ कि भनेर! काेही आउन लाग्याे भने उनले साथीहरूलाई संकेत गर्थे।
पैसालाई बेरेर साथीहरूले धुलोजस्तो चिजलाई नाकले सुँघ्थे। त्यो देख्दा राजुलाई भने खुलदुली हुन्थ्यो। त्याे धुलोबारे जान्ने रहर लाग्थ्यो।
एकदिन राजुले साथीहरूसँग उनीहरूले प्रयाेग गरिरहेकाे धुलाेबारे साेधे।
ड्रग्सप्रति राजुको उत्सुकता देखेर दुर्व्यसनी साथीले भने, ‘यो ब्राउनसुगर हो। यसले मान्छेलाई स्वर्गमा पुर्याउँछ। तँ पनि ट्राई गर्छस्?’
पहिलेपटक ब्राउनसुगरको नाम सुनेका राजुलाई खुलदुली भयाे।
उनलाई पनि ब्राउनसुगर प्रयोग गर्ने रहर लाग्याे। त्यही रहरले उनलाई दुर्व्यसनी बनायाे।
पहिलोपटक ड्रग्सको सेवन गर्दा राजु मात्र १४ वर्षका थिए। भर्खरै, सात कक्षामा पढ्दै थिए।
कहिल्यै चुरोटसमेत नतानेका राजुले एकैचोटी ब्राउन सुगर सेवन गरिदिएका थिए। त्याे पनि साथीहरूलाई देखाउनैका लागि।
आफूलाई अरूभन्दा फरक देखाउनुपर्ने र साथीभाइकाे देखासिकी गर्नु त राजुकाे सानैदेखिकाे आदत थियो।
साथीले दुई हजारको जुत्ता किन्दा राजुलाई पनि महँगो जुत्ता किन्नैपथ्यो। चाहे त्यो किन्ने पैसा आमासित होस् या नहोस्।
‘मेरो साथीले महँगो जुत्ता किन्दा–मलाई त्योभन्दा पनि राम्रो जुत्ता चाहिन्थ्यो। मलाई सधैं साथीहरूभन्दा फरक देखिनुपन्थ्यो’, उनी सुनाउँछन्, ‘त्यही सोचेर मैले चुराेट नपिइकनै ब्राउनसुगरकाे प्रयोग गरिदिएँ।’
चुराेट हुँदै ब्राउनसुगरकाे लतसम्म पुगेका साथीहरूसँग राजु फूर्ति गर्थे। राजुलाई लाग्थ्याे कि! साथीहरूभन्दा उनी खतरा छन्। किनकि उनकाे पहिलाे नशा नै ‘डेन्जर’ थियाे।
राजुका साथीहरू चुराेट पिउँथे तर कहिल्यै उनले चुराेटलाई छाेएनन्। किनकि त्यसकाे पछाडि उनकाे सपना जाेडिएकाे छ। खेलाडी बन्ने सपना।
जबदेखि राजुले स्कूलकाे आँगन टेके। तबदेखि नै उनकाे सपना बनेकाे थियाे, भविष्यमा फुटबल खेलाडी बन्ने।
सधैं स्कूलमा साथीहरूसँग फुटबल खेल्न रुचाउँथे राजु। त्यहीबाट उनको चासो बढेको थियो फुटबलप्रति।
त्याे रुचीलाई नै भविष्यमा पेशा बनाउने संकल्प लिएका थिए राजुले। फूर्सदकाे समयमा पनि फुटबल खेल्ने उनकाे बुझाइ थियाे, खेलाडी स्वस्थ्य हुनुपर्छ। त्यसैले उनले चुराेट पिउने कहिले साेचेनन्।
‘चुरोटले मान्छेलाई अस्वस्थ्य बनाउँछ भनेर सुनेको थिएँ। त्यही भएरपनि मैले चुरोट चाहिँ कहिल्यै पनि छुइनँ’, उनी भन्छन्, ‘फुटबल खेलाडी बन्छु भनेरै चुरोटबाट टाढा बसें।’
खेलाडी बन्ने सपनाले राजुलाई चुराेट पिउन त राेक्याे तर ब्राउनसुगरकाे प्रयाेग गर्नबाट राेक्न सकेन।
पहिलोपटक ब्राउन सुगरको प्रयोग गर्दा राजुलाई राम्रो ‘ट्रिप’ दिएजस्तो लाग्यो। उनलाई आकाशमा उडेजस्तो भयो। छुट्टै दुनियाँमा पुगेजस्ताे भयाे।
राजुलाई ड्रग्सले दिएको त्यो ट्रिप मनपरेको थियो। ‘मान्छेलाई पहिलोपटक ड्रग्स खाँदा समस्या देखिन्छ तर मलाई त्यस्तो केही भएन’, उनी सम्झन्छन्, ‘मलाई रमाइलो लागेको थियो।’
ड्रग्सको स्वादमा लोभिएका उनलाई एकदिन–दुईदिन गर्दागर्दै लागुऔषधको बानी पर्याे।
सुरुवाती दिनमा साथीहरूले उनलाई ड्रग्स दिन्थे। तर त्यसको आदत भइसकेपछि राजु आफैंले ड्रग्स किनेर खानुपर्याे।
‘त्योबेला साथीहरूले मलाई बानी बसाल्नका लागि मात्र ड्रग्स दिएको जस्तो लाग्छ’, उनले भने, ‘पछि बानी भइसकेपछि साथीहरूले मलाई ड्रग्स दिनै छाडे। मसित लुकेर खान्थे।’
ड्रग्सको सेवन गर्नअघि उनलाई भविष्यको चिन्ता लाग्थ्यो। खेलाडी नहुने होकि भन्ने कुराले पिरोल्थ्यो।
तर ब्राउनसुगरको प्रयोग गर्न थालेपछि उनलाई एउटै कुराको सोच आउँथ्यो, ‘ड्रग्सको लागि कसरी पैसा जुटाउने? कहाँ किन्ने अनि कहाँ बसेर खाने?’ त्यही सोचेर बित्थ्यो राजुको दैनिकी।
ड्रग्स किन्ने पैसा खोज्नका लागि उनी दिनभरि भौतारिनुपथ्यो। न उनी जागिरे थिए न त परिवारको आर्थिकस्थिती नै बलियो भयो।
एक्ली आमाले जसोतसो पाँच छोराछोरीलाई पालिरहेकी थिइन्।
सानै छँदा बुबा बितेपछि राजुसहित दिदीबहिनी अनि दुई भाइको जिम्मेवारी आमाको काँधमा आइपर्याे। पाँच सन्तानको पेट पाल्नका लागि छिमेकीको घर–घरमा काम गर्न पुग्थिन् आमा।
परिवारको जिम्मेवारी उठाउन आमाले धेरै दुःख गर्थिन्। तर आमाको पीडालाई कहिल्यै बुझेनन् जेठा छोराले।
बरू, सधैं घुर्की लगाइरहे–महँगा कपडा अनि जुत्ता किन्न लगाएर।
आमाले गरेको दुःख बिर्सिएर कुलतको दुनियाँमा रुमलिएका राजु एक डोजका लागि तड्पिन्थे। त्यही तडपनले उनलाई ‘ड्रग्स डिलर’ पनि बनायो।
उनले आफूले सेवन गर्नका लागि किनेको ड्रग्स थोरै बेचेर भएपनि पैसाको बन्दोबस्त गर्न थाले।
कहिलेकाहीँ त उनी बसन्तपुरमा ड्रग्स किन्थे अनि बसन्तपुरमै ड्रग्स बेचिदिन्थे।
‘मैले त्यतिधेरै ड्रग्स बेचिनँ। तर त्यही बेचेर आफ्नो डोज पूरा गथेँ’, उनी भन्छन्, ‘मैले जागिर नगरीकन ड्रग्स बेचेरै आफूलाई चाहिने खर्च जुटाए।’
ड्रग्सको कारण उनको पढाइ रोक्कियो। सानैदेखिको सपना तुहियो। तरपनि उनमा पछुतो थिएन।
बरू, झनै घमण्ड थपिएको थियो। राजुलाई आफूले सेवन गरिरहेको ड्रग्सप्रति गर्व लाग्थ्यो।
‘त्योबेला ड्रग्स प्रयोग गर्नेहरूले आफूलाई हिरो ठान्थे तर बोतल सामान हान्नेलाई हेपिन्थ्यो’, विगत कोट्याउँदै उनले भने, ‘मलाई सुइँ हान्ने एडिगहरू झारपात लाग्थ्यो। मैले आफूले आफैं स्टान्डर ठान्थें।’
जबसम्म उनको डोज सीमित थियो। तबसम्म उनले ड्रग्सलाई खाँदै–बेच्दै गरे। तर जब उनको डोज बढ्दै गयो। उनले ड्रग्स बेच्नै छाडिदिए।
राजुलाई पुग्नै छाड्यो ड्रग्सले।
त्यसपछि उनले पनि बोतलको सामान प्रयोग गर्न थाले। ‘पैसा नहुन थालेपछि मैलेपनि बोतलको ड्रग्स प्रयोग गर्न थालें’, उनी सुनाउँछन्, ‘म पनि स्ट्यान्डर ड्रगिस्टबाट झारपातमा झरेको थिएँ।’
परिवारले समात्यो रंगेहात
राजुले लागुऔषधको प्रयोग गर्न थालेको सात वर्ष भइसकेको थियो। तरपनि परिवारमा कसैलाई थाह थिएन उनको वास्तविकता।
सदा–जस्तै। राजु आफ्नो कोठाभित्र थिए। आफ्नो सिकनेस मेटाउन उनले ड्रग्स भरिएको सिरिन्जले शरीरमा घोच्दैथिए। त्यहीबेला ढोका खुल्यो।
ढोकामा दिदी थिइन्। भाइको हर्कत देखेर निराशिएकी उनी रुँदै आमाकहाँ दौडिइन्।
राजुको वास्तविकता आमालगायत भाइबहिनीलाई सुनाइन् दिदीले। त्यसपछि घरमा रुवाबासी भयो।
आमाले छोरालाई रुँदै सम्झाउन थालिन्। तर राजुलाई आमाको आँसु त नाटकजस्तै लागिरहेको थियो।
आमासँगै रोइरहेका दिदीबहिनी र भाइहरूको आँसु देखेर उनलाई लागिरहेको थियो, ‘कुनै फिल्मको सुटिङ चल्दैछ।’
हुनत स्वभावले झगडालु, रिसाह अनि घमन्डी थिए राजु। तर उनी अरू रोएको देख्नासाथ आफैंपनि भक्कािनिहाल्थे।
तर आफ्नै परिवार रोएको देख्दा उनलाई झर्को लाग्थ्यो। नाटक नगर्न भन्दै आमालाई हप्काउँथे राजुले।
‘फिल्ममा हिरोको आमा रोएको देख्दा म रून्थें तर आफ्नै आमा रूँदा मलाई वास्तै लाग्दैनथियो। यो बूढीले नाटक देखाइरहेको छ भनेर रिस उठ्थ्यो। तर अहिले महसुस हुन्छ कि म कत्ति धेरै गलत रहेछु’, ती कुरा सम्झेर अझैपनि झस्किन्छन् राजु।
ब्राउनसुगरबाट सिरिन्ज हान्ने अवस्थामा पुगिसकेका राजुको अवस्था दयनीय भइसकेको थियो। आखाँबाट आँसु झरिरहने अनि नाकबाट पानी बगिरहन्थ्यो। त्यहीपनि उनी ड्रग्स छोड्ने पक्षमा थिएनन्।
छोराको अवस्था देखेर विरक्तिएकी आमाले ड्रग्स छोड्न कयौं–पटक बिन्ती बिसाइन्। राजुले भने टारिरहे, ‘मेरो चिन्ता लिनुपर्दैन। म ड्रग्स छोड्छु। तर आफ्नै हिसाबले।’
नशालाई बाँच्ने आधार बनाइसकेका राजुलाइ लाग्थ्यो कि ड्रग्स खान छोड्यो भने मरिन्छ! त्यसकारण ड्रग्स छोड्ने सोच कहिल्यैपनि आएन राजुलाई।
बरू, कहिलेकाहीँ भने ड्रग्सको मात्रा कम गर्ने सोचेका थिए राजुले। तर त्योपनि सकेनन्।
‘लागुऔषध प्रयोगकर्ताले ड्रग्स छोड्यो भने मर्छ भन्ने कुरा सुनेको थिएँ। त्यसैले ड्रग्स छोड्छु भनेर सोचिनँ। ड्रग्सको मात्रा कम गर्ने सोचेको थिएँ तर सकिनँ’, उनी सुनाउँछन्, ‘मैले सिरिन्जको प्रयोग गर्न थालिसकेको थिएँ। त्यो सामान सहजै पाइन्थ्यो। मूल्य पनि सस्तो पथ्यो। त्यसकारण पनि मैले मेरो डोज कम भएन। गरिनँ।’
उनीसँगै ड्रग्सको सेवन गर्नेहरूको मृत्यु भइसकेको थियो, ओभर डोजले। तर राजुले सधैं सोचिरहे–साथीहरू ड्रग्स खान नपाएर परलोक पुगे।
आफ्नो ‘ड्रग्स पार्टनर’हरूको मृत्यु भएपनि राजुलाई भने आफूप्रति आत्मविश्वास थियो, उनको मृत्यु हुने छैन।
‘मेरा साथीहरू ड्रग्स र खाना खान नपाएर मरेको होलान् जस्तो लाग्थ्यो तर मलाई आफू मर्दिनँ भन्ने कुरामा विश्वास थियो’, आफ्ना साथीहरूलाई सम्झिएर उनले भने, ‘मैले ड्रग्ससँगै खाना पनि खान पाइरहेको थिएँ। मलाई चिसै भात भएपनि आमाले राखिदिनू हुन्थ्यो। ड्रगिस्ट भएपनि भोकै बस्नु परेन।’
ड्रग्सले साथीहरूकाे ज्यान मात्र लिएन। उनले चिनेका एक भाइलाइ पनि अपांग बनाइदियाे। ती भाइलाइ देख्दा भने राजुकाे मन चिसक्क पस्थ्याे।
ड्रग्सले साथीहरूको ज्यान मात्र लिएन। उनले चिनेका एक भाइलाइ पनि अपांग बनाइदियो। ती भाइलाइ देख्दा भने राजुको मन चिसक्क पस्थ्यो।
वैशाखी टेकेर हिँडडुल गर्न ती भाइले राजुसँग भन्ने गर्थे, ‘दाइ तपाईं बुझ्ने मान्छे हो। तपाईंले कुलत छोड्नुपर्छ। यसले तपाईंलाई बर्बाद बनाउँछ। जुसरी मलाई बनायो।’
ड्रग्सको कारण खुट्टा काट्नपरेको थियो ती भाइको। उनी अक्सर राजुलाई सम्झाइरहन्थे।
तर राजुमा घमन्ड थियो, ‘त्यो भाइले नजानेर खुट्टा काट्नुपर्यो। ऊभन्दा म धेरै जान्ने छु। खुट्टा सिरिन्ज हान्दिनँ तर हातमा मिलाएर हान्छु।’
सधैं आफूलाई बचाउने काम मात्र गरिरहे राजुले।
रहरले पुर्यायो ‘रिह्याब’
करिब तीन दशकअघि, जति दुर्व्यसनीहरूकाे बिगबिगी थियाे। त्याेभन्दा धेरै कम थिए ‘रिह्याब सेन्टर’हरू।
धेरैलाई थाह थिएन सुधार केन्द्रबारे। राजु पनि अनविज्ञ थिए सुधार गृहले गर्ने कामहरूबारे।
तर उनले चिनेका केही साथीहरू भने रिह्याबमा थिए। दाैतरी मात्र हाेइन उनले चिनेका भाइहरूपनि सुधार केन्द्र पुग्न थालिसकेका थिए।
आफूभन्दा साना भाइहरू रिह्याब गएकाे थाह पाएपछि राजुलाइ पनि त्यसबारे चासाे बढ्याे।
उनमा पनि सुधार केन्द्रमा बस्ने हुटहुटी पलायाे। ड्रग्स छोड्ने सोचले होइन, रिह्याबबारे जान्ने कौल्तुहलताले।
कुलतको दुनियाँमा फसिसकेपछि राजुको एउटै धोको थियो–ड्रग्स खाएरै मर्ने।
यतिसम्म कि उनले साथीहरूलाइ पनि भनिसकेका थिए, ‘मेरो लास जलाइरहेको चितामा पनि मलाई ड्रग्स चढाइदिनू है। तबमात्र मेरो आत्मा शान्ति पाउनेछ।’
परिवारभन्दा ठुलाे बनिसकेकाे थियाे उनका लागि ड्रग्स। त्यसैले राजु ड्रग्स छाेड्नेभन्दा पनि अवलाेकन गर्न पुगेका थिए रिह्याब सेन्टर।
त्यहाँ उनले तीन महिना बिताए। बिना ड्रग्सकाे जीवन।
तरपनि उनमा ड्रग्स त्याग्ने सोच भने कहिल्यै आएन।
बरू, झनै उनको घमन्ड बढ्यो, ‘रिह्याब भनेको ड्रग्स छोड्नै नसक्नेहरूका लागि हो। मेरो लागि होइन। म आफैंले चाहने हो भने ड्रग्स छोड्न सक्छु। त्यसैले म रिह्याबमा बस्नु जरूरी छैन।’तीन महिना रिह्याबमा बस्दा उनलाई स्वभाव बदल्न पनि सुझाव दिइयो। तर राजुले रिह्याबमा पनि आफ्नै रबैया देखाए।
रिह्याबका सञ्चालकहरूले स्वभाव सुधार्न लगाउँदा राजुले जवाफ फर्काइहाल्थे, ‘म यहाँ ड्रग्स छोड्न आएको हो। मेरो बानी–व्यवहोरा होइन।’
सुधार केन्द्रमा उनलाई दुर्व्यसनीहरूको सम्पर्कमा नआउन सुझाव दिइएको थियो।
तर राजुले विपरित गरे। उनी फेरि लागुऔषध प्रयाेगकर्ता साथीहरूकाे संगतमा लागे अनि ड्रग्स लेनदेन गर्ने ठाउँ–ठाउँमा बस्न थाले।
त्यसपछि उनी फेरि ड्रग्सकाे फन्दामा परे।
रिह्याबबाट निस्किएकाे डेढ महिनामै कुलतमा पुगेका राजुकाे अवस्था झनै दयनीय हुन थाल्याे।
मानसिक र शारीरिक अवस्था नै जटिल बन्दै गयाे।
खाइलाग्दाे शरीर दुब्लायाे–स्वर पनि दबियाे। ड्रग्सकाे कारण उनमा देखिएकाे ‘साइड इफेक्ट’ थियाे त्याे।
‘मलाई लाग्थ्यो कि म चिच्याएर बोलिरहेको छु तर सुन्ने मान्छेले केही नसुन्दो रहिछ। किनकि ड्रग्सको कारण मेरो स्वर दबिएको रहिछ’, उनले भने, ‘म खिइदै थिएँ।’
ऐनामा ख्याउटे अनुहार देखेर आफैं तसिन्थे राजु। अनि आफैंसित प्रश्न गर्थे, ‘म किन यस्तो भए?’
दिन प्रतिदिन खिइँदै गइरहेकाे शरीर देखेर राजुकाे मनमा पनि डर पसिसकेकाे थियाे, अब मरिन्छ हाेला!
त्यही डरका कारण राजु २००९ सालमा दाेस्राे पटक पुरानै रिह्याबमा पुगे। सुध्रिने साेचका साथ।
दुर्व्यसनीको कपालै सबथोक
दोस्रोपटक रिह्याब जाँदा राजुलाई लागेको थियो, भेदभाव पो हुने होकि!
‘पहिलाे उपचारमा रिकबरि हुन नसकेकोले मलाई हेप्ला कि जस्तो लागेको थियो तर कसैले नराम्रो गर्नु भएन। सबैले माया नै गर्नुभयो’, राजुले बताए।
नशा त्याग्ने साेचका साथ दाेस्राे पटक रिह्याब जाँदा पनि उनकाे लफडा पर्याे, कपालकाे कारण।
रिह्याबमा भर्ना गर्नका लागि राजुकाे कपाल काट्न खाेजियाे। तर कपाल काट्ने पक्षमा थिएनन् राजु। कपाल नकाटेरै रिह्याबमा बस्ने उनकाे अडान थियाे।
त्यही कपाललाई लिएर रिह्याबका सञ्चालक र राजुबीच नाेकझाेक भयाे।
‘दुर्व्यसनीहरूका लागि सबथोक कपाल हो। उनीहरू स्टाइलिस देखिन रूचाउँछन्। अधिकांश प्रयोगकर्ताहरूले आफू राम्राे देखिन्छ भनेरै कपाल पालेका हुन्छन्। त्यसैले मलाई पनि कपाल काट्नु थिएन’, नाेकझाेक सम्झिएर मुस्काएका राजु भन्छन्, ‘त्याेबेला मैले रिह्याब बस्दिनँ तर कपाल काट्दिनँ भनेकाे थिएँ।’
राजुले रिह्याब नबस्ने भनेपछि सञ्चालकले भनेका थिए, ‘धेरै छाेटाे हुनेगरी कपाल नकाट् तर थाेरै भएपनि काट् न। यतिबाहेक तेराे केही कुरा सुन्दिनँ। तँभित्र भएकाे सबैभन्दा ठुलाे समस्या नै घमन्ड हाे। तैले यसलाई कन्ट्रोल गरिनस् भने तेरो भविष्य छैन।’
छाेटाे कपाल नकाट्ने सर्त पूरा भएपछि राजु पनि अनुशासित भएर बस्न थाले रिह्याबमा।
डेढ दशकदेखि लागुऔषध प्रयोगकर्ता राजुलाई कुलतमुक्त हुन उत्तिकै छटपटी भयाे।
२-३ रातसम्म उनी निदाउनै सकेनन्। टाेलाएरै बित्थ्याे दिनरात।
तर जसाेतसाे राजुले एक महिना रिह्याबमा कटाए। औषधि प्रयोग गरेर।
‘डाक्टरले लेखेर दिएको औषधि पनि खाइनँ। मलाई बिना औषधि नै रिकभरि हुुनुथियो। मलाई फेरि औषधिको एडिक्ट बन्नु थिएन’, बिएल नेपाली सेवासँग उनले भने, ‘कुनै औषधिबिनै मैले मेरो रिकबरि पूरा गरें।’
सुधार केन्द्रमा बसेको महिना दिनपछि उनलाई सञ्चालकले सोधेका थिए, ‘अब तँ के गर्छेस्?’
ती सञ्चालकको कुरा सुनेर राजुले पनि जवाफ फर्काए, ‘तपाइले ठाउँ दिनुभयो भने म केही गर्छु दाइ।’
उनकाे जवाफ सुनेर सञ्चालकले त्यही सुधार केन्द्रमा काम दिए राजुलाई। उनले पनि इमान्दारीका साथ काम ११ वर्ष बिताए, त्यही रिह्याबमा।
अहिले भने उनी धुलिखेलमा रहेकाे ‘नयाँ दिशा क्रियाशील समूह’मा आवद्ध छन्। त्यहाँका राजु संयाेजक हुन्।
फेरिएको समाजको दृष्टिकोण
अहिले राजु १६ वर्षदेखि रिकबरि छन्। र, उनले सयाैं जनालाई नयाँ जीवन दिइसकेका छन्।
कुनैबेला घरबाट टाढिएका राजु अहिले भने परिवारसँग मात्र हाेइनन् छिमेकीहरूसँग पनि नजिक छन्।
अहिले टाेलमा काेही दुर्व्यसनी भएमा तुरून्तै राजुलाई फाेन गरेर खबर दिइहाल्छन्।
‘मेरो समाजका लागि पहिले म सबैभन्दा खत्तम मान्छे थिएँ। कसैको घरमा चोरी हुँदापनि मलाई नै दोष लगाउँथे तर अहिले भने उहाँहरूको नजरमा म राम्रो मान्छे हुँ’, उनको रिकभरिसँग बदलियो समाजको दृष्टिकोण।
कुलतको बाटोलाई त्यागेर नयाँ जीवन बिताइरहेका राजु आफ्नोप्रति खुसी र सन्तृष्ट छन्।
तर विगतलाई फर्किएर हेर्दा आफूले गरेका गल्ती सम्झिन्छन् अनि पहिलोपटक ब्राउनसुगर सेवन गरेकोमा पछुताउँछन्।
अझैपनि राजुलाई लाग्छ– सायद कुलतको बाटो नहिँडेकाे भए, यतिबेला राष्ट्रिय फुटबल खेलाडी हुन्थें कि!