‘अमला’सँगै तस्करीमा झाँगिएको माओवादी साइनो

जीवन डाँगी

काठमाडौं

तिब्बतीयन नागरिक दावा छिरिङलाई भेट्नुभन्दा अघि रोल्पा थबाङकी अमला रोकाले आफ्ना गाउँठाउँका जडीबुटीहरू काठमाडौँ ल्याएर बेच्थिन्।

बेल्जियमबाट नागरिकता लिएका यी उनै दावा हुन्, जसले त्योबेला काठमाडौँमा बसेर एउटा गिरोहमार्फत आपराधिक गतिविधि गरिरहेका थिए। ‘कल बाइपास’, बैंकको सर्भर ह्याकिङ र एटिएमबाट पैसा चोरीजस्ता अपराधले काठमाडौँ रन्थनिइरहेका बखत दावा पनि तिब्बतीयन जडीबुटीको व्यापार गर्थे।

जडीबुटी व्यापारका क्रममा भएको त्यही चिनजान २०७४ सम्म आइपुग्दा दावा र अमलाबीच वैवाहिक सम्बन्ध बन्यो।

र, उनीहरू अनवरतरुपमा हिँडिरहे जिन्दगीको गोरेटेमा।

०००

२०७६ साल पुस ७ गते प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट १२२ जना चिनियाँ पक्राउ गर्‍यो। अवैध कल सेन्टर चलाएर नेपालीको पैसा ठगिरहेका त्यो चिनियाँ ‘ग्याङ’का लिडर थिए, दावा छिरिङ। तर उनलाई त्योबेला यहाँका नेताहरूले भगाए। प्रहरी पनि पछिपछि लागेन।

चार वर्षपछि क्विन्टल सुनको ‘जरो’ खोज्दै हिँडेको राजस्व अनुसन्धान विभागले ठमेलको भियना होटलमा दावालाई पनि भेटायो। अमलाको नाममा दर्ता भएको त्यो होटल ‘चिनियाँ ग्याङ’को एउटा सेल्टर थियो।

दावासँग श्रीमती बनेर गाँसिएपछि अमलाको जिन्दगी पनि नाटकीय ढंगले फेरिइरहेको थियो। युद्धकालमै माओवादीको ‘आधार इलाका’ थबाङ छोडेर दाङ–काठमाडौँ आएकी अमला यहाँ बसेर जडीबुटी र भाङ्गो व्यापारी भइसकेकी थिइन्।

जडीबुटी व्यापार, अमला र दावाहरूले फैलाएको तस्करी र नेपाली सम्बन्ध कोट्याउँदै जाँदा यहाँ सुन तस्करीदेखि राजनीतिक साइनो पनि फेला परेको छ। र, अब क्विन्टल सुन कहानी रोल्पाका माओवादी नेताहरूसम्मै गाँसिएको छ।

‘सुन तस्कर’को नेपाली साइनो खोतल्दै जाँदा यो कथाले नाटकीय मोड लियो।

गिरोहमार्फत ‘आपराधिक धन्दा’ चलाइरहेका चिनियाँ मूलका ‘नेपाली ज्वाइँ’ शनिबार पक्रिएपछि अनुसन्धानको तीर शीर्ष राजनीतिक नेतृत्वतर्फ सोझिएको छ। 

राजस्व अनुसन्धान विभागले चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गर्‍यो। र, अहिले उनी प्रहरी हिरासतमा छट्पटाइरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छलेर तस्करी गरिएको ‘एक क्विन्टल सुन प्रकरण’मा मुछिएका दावा माओवादी नेताका ‘ज्वाइँ’ र नक्कली नेपाली नागरिकसमेत हुन्।

सुन तस्करसँग राम्रो साँठगाँठ देखिएपछि उनलाई राजस्व अनुसन्धान विभागले होटलबाटै पक्राउ गरेको अधिकारीहरूले जनाएका छन्। उनी १०० केजी सुन तस्करी प्रकरणमा पक्राउ पर्ने अठारौँ व्यक्तिसमेत हुन्।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार उनी काठमाडौँ भित्रिने सुनको ‘एजेन्ट’ पनि  हुन्। र, उनै नेपाली ज्वाइँ दावाले नेपाल भित्रिएको सुन भारततिर सीमापार गराउँथे।

प्रहरीका अनुसार काठमाडौँमा सुन व्यवस्थापन गर्ने जिम्मेवारी लिएका मुख्य पात्र उनै दावा हुन्। उनी नक्कली नोट कारोबारीसमेत हुन्। तर सत्ता र पहुँचका आडमा बारम्बार उम्किरहेका विवादित व्यक्ति हुन्, नेपाली ज्वाइँ दावा।

राजस्व अनुसन्धान विभागले दावाको अड्डाबाट सुन गाल्ने मेसिन बरामदसमेत गरेको छ। चिनियाँ तस्करहरूको अखडाका रुपमा चिनिँदै आएको ‘होटल भियना’ अमला रोका र मञ्जिल श्रेष्ठको नाममा सञ्चालित छ। मञ्जिलको परिचय नखुले पनि अमलाचाहिँ सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङकी श्रीमती हुन्। 

जडीबुटीले गाँसेको सुनको साइनो

दावा र अमलाबीच २०७४ सालमा काठमाडौँमा विवाह भएको थियो। त्योबेला अमला सामान्य जडीबुटी र भाङ्गो व्यापार गर्थिन्।

व्यापारकै क्रममा उनीहरूबीच चिनजान भएको र पछि वैवाहिक बन्धनमा बाँधिएको उनलाई नजिकबाट चिन्ने थबाङ्गीहरू बताउँछन्।
अमलासँग विवाह गरेपछि दावाले फर्जी कागजातको आधारमा नेपाली नागरिकतासमेत लिएका छन्।

दावाले निमा तामाङको नाममा २०७४ साल पुस २० गते काभ्रेको नमोबुद्ध–११ स्थायी ठेगाना राखेर नेपाली नागरिकता लिएको सरकारी अधिकारीहरू बताउँछन्। र, यो गैरकानूनी काम अनुसन्धानकै क्रममा छ।

०००

अमला युद्धकालीन माओवादी होइनन्। उनका श्रीमान सुजन राेका (२२–२३) शिक्षक थिए। माओवादीसँग नजिकिएका श्रीमानकाे हत्या भयाे तर ब्यक्तिगत कारण। उनका काका पनि युद्धमा मारिएपछि अमलाको परिवार तराईतिर बसाइँ सर्‍यो। युद्ध सकिएको धेरैपछि मात्रै उनका आफन्तहरूलाई थाहा भयो, अमला दाङ–काठमाडौँको व्यापारी भइसकेकी रहेछिन्। 

र, थबाङीभन्दा धेरै उनले काठमाडौँमै बसेर माओवादी नेताहरूसँग गहिरो साइनो गाँसिसकेकी थिइन्। काठमाडौँमा थबाङ्गी समाज अनि रोल्पा–काठमाडौँ सम्पर्क मञ्चहरूमा माओवादी नेताहरूको बाक्लै आउजाउ हुन्थ्यो। त्यो चिनजानलाई अमलाले विस्तारै पारिवारिक बनाउँदै लगिन्।

पछि त चिनियाँ मूलका दावा पनि उनको जीवनमा जोडिए। यो सम्बन्ध गज्जबले झाँगिँदै गयो। रोल्पाको थबाङ गाउँपालिका–२ (साविक ७) अमलाको पुर्ख्यौली घर हो। तर उनले गाउँ छोडेको धेरै पहिला हो। त्यसैले धेरै थबाङ्गीसँग उनको गहिरो चिनजान छैन।

काठमाडौँमा पैसा कमाएपछि थबाङका सिधासाधा महिलाहरूलाई फकाउँदै अहिले उनले त्यहाँ सहिदमार्गसँग जोडिएका धेरै जग्गाजमिन जोडिसकेकी छिन्।

दावाले थबाङ घर भएकी एक समयकी सामान्य अमलासँग बिहे गरेपनि ‘दावा–अमला’को कनेक्सन माओवादीको शीर्ष राजनीतिक नेतृत्वसँग जोडिएको छ। माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीसँग दावाकी श्रीमतीको राम्रो उठबस छ।

०००

स्रोतकाअनुसार उनी नेकपा (माओवादी केन्द्र) रोल्पा–काठमाडौँ सम्पर्क समन्वय समिति उपाध्यक्षसमेत हुन्। अमला पार्टी कार्यकर्ता र रोल्पाली चेली भएको भन्दै पारिवारिक सम्बन्ध भएको वर्षमान पुन स्वीकार गर्छन्। तर वर्षमान र ओनसरीका सहयोगीहरूको ‘ठमेल–अमला’ कनेक्सन भने अनुसन्धानमा तातिने खालकै छ।

उनी वर्षमानसँग मात्र होइन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि उतिकै निकट छिन्। पूर्वउपराष्ट्रपतिसँग आफैँमात्र होइन, दावा छिरिङले पनि भावनात्मक नाता गाँसेका छन्। पुनकी जेठी बुहारी जुना मगरसँग उनी भाइटीका लगाउँछन्।

कान्छा छोरा विद्यार्थी–नेता दीपेश पुनका निकट मित्र हुन्, दावा। प्रायः माओवादी नेता–कार्यकर्ताहरू ठमेलस्थित ‘दावा-अमला’को भियना होटलमै भेटिन्छन्।

दावा कहिँकतै माओवादी नेताहरूको घरघरमा नहिँडेपनि अमलाचाहिँ वर्षमान र नन्दबहादुरको घरमा बेलाबेला गइरहन्छिन्। पूर्वसभामुख ओनसरी घर्तीका सहयोगी थबाङ निवासी जीवन रोका र वर्षमाननिकट थबाङकै मौसम रोकासमेत अमलाका पारिवारिक नातेदार हुन्। उनीहरू अमलाका सुखदुःखका सारथिसमेत मानिन्छन्।

पछिल्लो समय ‘वर्षमान–दावा’बीच पुलको भूमिका उनै जीवन, मौसम, पूर्वउपराष्ट्रपतिकी जेठी बुहारी जुना अनि कान्छा छोरा दीपेश पुनले निभाइरहेका छन्। माओवादी स्रोतकाअनुसार ओनसरीका नीजि सचिव जीवन रोका चौबिसै घन्टा ठमेलमै हुन्छन्।

उनीसितै हुन्छन्, मौसम रोका पनि। उनी वर्षमान पुनले रुचाएका थबाङका एकमात्र माओवादी कार्यकर्ता हुन्। एकसमय सामान्य पत्रकार थिए, मौसम। तर अहिले वर्षमान पुनको छत्रछाया र अमला–दावाको संगतले राजधानीमा छाइरहेका छन् उनी।

दावा पक्राउ पर्नसक्ने सूचना पाएपछि थबाङको एउटा समूह शनिबार दिउँसोतिर पूर्वउपराष्ट्रपति निवास पुग्यो। उनीहरूले त्यहाँ खानपिन र रमाइलो कुराकानी गरे। लगतै, अमलाले पूर्वउपराष्ट्रपति पुनसँग एक्लाएक्लै कुराकानीसमेत गरिन्।

अमलानिकट स्रोतका अनुसार उनीहरू त्यहाँबाट फर्किएको सात घन्टा नपुग्दै दावा भाग्न सक्ने सूचना पाएपछि राजस्व अनुसन्धान विभागले उनलाई होटलबाटै पक्राउ गरेको थियो। र, अहिले सुन तस्करीसँग सम्बन्धित कथाहरू बगिरहेका छन्।

०००

अमलालाई वर्षमान र नन्दबहादुर जिल्लाबासी चेली र जनयुद्धताका परिवार गुमाएकी चेलीका रुपमा मान्छन्। अनि, चिनियाँ मूलका दावालाई बहिनी–ज्वाइँ भन्छन् उनीहरू। प्रहरी स्रोतका अनुसार दावा पहिलोपटक पक्राउ परेका होइनन्, उनी २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए।

दावा, यस्तै–यस्तै कयन् प्रकरणमा मुछिँदा पनि आपराधिक मुद्दाहरूबाट उम्किरहेका व्यक्ति हुन्। कारण, राजनीतिको यही एउटा गहिरो साइनो।

उनी २०७६ सालतिर अवैध कल बाइपास, अनलाइन जुवा, विदेशी मुद्रा तस्करी, अश्लील भिडियो बनाएर पैसा बार्गेनिङ गर्नेजस्ता अपराधमा जोडिएका व्यक्ति हुन्। त्योबेला पनि माओवादी नेता वर्षमान पुन र तत्कालीन उपराष्ट्रपतिको दबाबमा घटना फासफुस पारियो।

स्रोतका अनुसार ठमेलको भियना होटलमा चिनियाँ तस्करहरूको लस्कर हुन्थ्यो। प्रहरीले २०७६ साल पुस ७ गते एउटा चिनियाँ गिरोह पक्राउ गर्‍यो। त्यो गिरोहका नाइकेपनि उनै दावा थिए। तर अमला रोकाको दबाबमा वर्षमान पुन र नन्दबहादुर पुनले दावालाई उन्मुक्ति दिए। १२२ जना चिनियाँ पक्राउ परेका थिए। अरू आरोपी प्रहरी खोरमा जाँदा नेपाली ज्वाइँ दावा भने जोगाइए।

भियना होटल आफैँमा चिनियाँ आपराधिक समूहको अखडा मानिँदै आएको छ। 

अमलाका श्रीमान दावा बेलाबेला वर्षमान पुन, ओनसरी घर्ती र नन्दबहादुर पुनलाई भेट्न कार्यकक्षमै जान्थे। उनी चिनियाँ तस्करहरू लगेर त्यहाँ जाने गरेको अधिकारीहरू बताउँछन्।

०००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ भित्रिएको ‘एक क्विन्टल सुन प्रकरण’ले राजनीतिक वृत्त तातिएको छ।

आम नागिरकले एउटा सामान्य मोबाइलसमेत पास गराउन हम्मेहम्मे पर्ने विमानस्थल भन्सारबाट ‘कसरी छिराइयो १०० केजी सुन,’ यो प्रश्नले शीर्ष राजनीतिज्ञदेखि सुरक्षा निकाय र कर्मचारीतन्त्र लखेटिरहेको छ।

गत साउन ३ गते हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमार्फत ‘ब्रेक-शू’भित्र लुकाएर ल्याएको १०० केजी सुन विमानस्थल छेउतिर फेला पर्‍यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल लगिएको सुन ट्याक्सीबाट बरामद गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ताले जनाएका छन्। बरामद गरिएको १०० केजी सुनबारे अनेकौँ अड्कलबाजी चलिरहेकै छन्। र, अनुसन्धान भइरहेका बेला जोडिन आइपुगेका छन् नेपाली ज्वाइँ दावा।

‘यो सुन कुनै सामान्य व्यक्तिले ल्याएको होइन। हुन त अहिले एकातिर अनुसन्धन भइरहेको छ। तर अर्कातिर हाम्रो आशंका चाहिँ शक्तिकेन्द्रसँगै जोडिएका पात्र र ठुल्ठूला नेताहरू हुनसक्छन् भन्ने छ,’ राजस्व अनुसन्धान विभागका एक अधिकारीले भने।

प्रकाशित मिति: : 2023-08-01 21:40:00

प्रतिकृया दिनुहोस्

    हेर्दा त एउटा फित्ते चप्पल पनि लगाउन नसकिने हैसियत छ यिनिहरु, तर लुगा बिदेशि ब्राण्डकाे रहेछ ।

    • 9 महिना अगाडि
    • Mr. Lama