जनताकाे मन जितेका छाैँ, चुनाव पनि ढुक्कै जित्छाैँ : टिका जिसी

Breaknlinks
Breaknlinks

स्थानीय तहको निर्वाचन नजिकिँएसँगै यतिबेला देश चुनाव केन्द्रीत भएको छ। हरेक टोल–टोलमा चुनावी भेला, सभा तथा पार्टी प्रवेश अभियान निरन्तर चलिरहेको छन्। जनता आफनो पक्षमा पार्न लागिपरेका छन्, नेताहरू। निर्वाचन आयोगले उम्मेदवारीको नामावली तथा चुनाव चिन्ह समेत प्रदान गरिसकेकाे छ।

यही सन्दर्भमा प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको गठबन्धनबाट गाउँपालिका अध्यक्षकाे उम्मेरदवार बनेका जनमोर्चाका नेता टिका जिसीसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको कुराकानी प्रस्तुत छ:-


तपाईंले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएपछि मतदाताकाे प्रतिक्रिया कस्ताे आएकाे छ ?

हामी निरन्तर चुनावी अभियानमा छौँ। मैले हिजो गाउँ विकास समिति (गा.वि.स)देखि वडा अध्यक्ष बनेर गरेको काम, झिमरुकमा भएको विकासको गतिविधिमा मेरो नेत्तृत्वमा धेरै काम भएको छ। जनताहरुले हामीले गरेका कामको प्रसंशा गर्दै सकारात्मक प्रतिक्रिया दिनुभएकाे छ।

सकारात्मक प्रतिक्रियाले मात्रै त कहाँ चुनाव जितिएला र, तपाईंले चुनाव जित्ने मुख्य आधारहरु के हुन् ?

चुनाव जित्ने मुख्य आधार भनेको संगठन नै हो। यो भन्दा पहिलेको स्थानीय तहमा निर्वाचन हामीले झन्डै दुईतिहाई मत लिएर विजय भएका थियौँ। आफ्नाे कार्यकालमा जनताका लागि विकासलगायत सकारात्मक काम गरेका छौँ, कृषि, पर्यटन पूर्वाधार विकासलगायतका काम गरेका छौँ। हाम्रो काम देखेर जनता सन्तुष्ट हुनुहुन्छ। नेपालको कम बजेट फ्रिज हुने गाउँपालिका नगरपालिकामध्यको एक गाउँपालिका समेत बनाउन सफल भएका छाैँ। हाम्रो इमान्दारीतामा, भ्रष्ट्रचार नगर्ने पार्टी भनेर जनताले बुझेका छन्। त्यसैले जनताबाट आशा गरेका छाैँ। जनताको सहयोग मिल्ने छ। चुनाव जित्ने छौँ यिनै हुन्, मुख्य आधार।

चुनाव जितेपछि के–के गर्नुहुन्छ ?

विगतका केही काम अपूरा छन्, सबैभन्दा पहिला ती काम सफल बनाउनेतिर लाग्नेछाैँ। मैले गाउँपालिका अध्यक्ष जितेपछि पर्यटकीय व्यवस्थापन, कृषिमा आधुनिकीकरण, कक्षा १० सम्म फ्रि पढाइ तथा १२ सम्म फ्रि गर्ने व्यवस्थापन, सडक बिस्तार, अस्पताल व्यवस्थापनलगायत कहियाैँ योजनाहरु छन्। सबै योजनालाई पूर्णरुपमा सफल बनाउने, बेरोजगारीहरुलाई रोजगारमुखी बनाउने र युवाकाे हक/हितको लागि काम गर्ने छु।

यी कुराहरू भन्ने मात्रै हाे कि साँच्चै पूरा हाेलान् ?

हामी ज्यादा काम गर्छाैँ, कम बोल्छौँ। स्थानीय तह सरकार पूर्णरूपमा मान्यता प्राप्त सरकार हाेइन। सबै अधिकार प्राप्त हुँदैनन्। सबै सोचेको जस्तो ठूला–ठूला बजेटका काम गर्न नसकिएला। आएको बजेटलाई सही तरिकाले उपयोग गरेर जनतालाई सुविधा पुग्ने गरी लाग्ने छु।

चुनावलाईं कत्तिकाे चुनौतिपूर्ण रुपमा लिनुभएकाे छ ? 

चुनाव हो चुनौतीपूर्ण त छ नै तर आत्तिएका छैनाैँ। जित त्यति सजिलो छैन्। हामीले गरेका काम र समाजका जनआधारहरु छन्। ठ्याक्कैभन्दा त्यति अप्ठ्याराे पनि छैन। संगठनले विश्वास गरेर मलाई अवसर दिनुभएकाे छ। जित्नेमा ढुक्क छौँ।

फरक विचार राख्ने नेपाली कांग्रेससँग तपाईंहरूकाे चुनावी तालमेल छ, के सबैले भोट हाल्नुहाेला त ?

हाम्रो गठबन्धन एउटा विशेष परिस्थितमा बनेकाे हाे। प्रतिगमनको अवस्थालाई चिर्न बनेको गठबन्धनले प्रतिगमन समाप्त गर्न सफल भयाे। संविधान पालना गर्न समेत सफल भएका थियौँ। हाम्रो गठबन्धन अहिले बनेको गठबन्धन होइन विगत एक वर्षदेखि निरन्तर छ। गठबन्धनभित्र समस्या त आउँछन् नै छलफल, समीक्षा गरेर अगाडि बडिँरहेका छौँ। सबैले इमानदारिता पूर्व काम गरिरहनुभएको छ। त्यसैले लाग्छ हामीहरुलाई नै भोट हाल्नुहुन्छ। चुनावी अभियानमा हामी मिलेर लागेका छौँ। गठबन्धनभित्र फरक मत राखेर भोट नहाल्ने भन्ने त हुँदैन। हामी क्लियर छौँ।

प्रकाशित मिति: : 2022-05-02 16:00:00

प्रतिकृया दिनुहोस्