रतुवामाईमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेको हो।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिताविपरीत विद्यालयमा पार्टीको झण्डा झुण्ड्याएका छन्।
रतुवामाई नगरपालिका वडा नम्बर ९ मा रहेको पाथिभारा आधारभूत विद्यालयको गेटमा नेपाली कांग्रेस पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन्।
कांग्रेसको कतिपय चुनावी जुलुस र र्यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको पाइएको छ।
यस्तो छ कानुनी व्यवस्था
निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले यही चैत ३ गते नेपाल राजपत्रमार्फत जारी गरेको सो आचारसंहिता चैत १५ गतेदेखि लागू हुने व्यवस्था छ।
आचारसंहिताको परिच्छेद २ को ‘ग’ अनुसार ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ व्यवस्था कायम गरिएको हो।
परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार वा दलका भातृ सङ्गठनले १८ वर्ष पूरा नभएका बालबालिकालाई चुनावी प्रचारप्रसार। धर्ना जुलुस, आमसभामा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।
सोही आचारसंहिताको परिच्छेद २ को ‘छ’ अनुसार १८ वर्ष पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकले कुनै पार्टीको प्रचारप्रसार गर्न नपाउने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुने, शिक्षकहरूले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन र मत माग्न नपाइने उल्लेख गरिएको छ।