कसरी कम खर्चिलो बनाउने चुनाव?

सेतोपाटी

डा. यादव पण्डित

नेपालमा चुनाव निकै खर्चिलो बन्दै गएको छ। चुनाव खर्चिलो भयो भने त्यसले आसेपासे पुँजीवाद (क्रोनी क्यापिटिलिज्म) लाई बढावा दिएर निष्पक्ष निर्वाचन जस्तो लोकतन्त्रको आधारभूत चरित्र निष्प्रभावी बनाइदिन्छ।

संसारभर कतै पनि उम्मेदवारले पैतृक सम्पत्ति मात्र खर्च गरेर चुनाव लडेको हुँदैन। उम्मेदवारहरू आमनागरिकबाट चन्दा उठाएरै चुनाव लड्ने हुन्। उन्नत लोकतन्त्र भएका मुलुकमा चन्दा र खर्चको सीमा तोकिने भएकाले पारदर्शिता हुन्छ। 

नेपालमा हुने निर्वाचन दिनप्रतिदिन खर्चिलो हुँदै गएको कुरा हामीले महसुस गरेको मात्र होइन, विजयी उम्मेदवारहरूको भनाइले पनि पुष्टि गर्छ। त्यसैले लोकतन्त्रको आधारभूत चरित्र मर्न नदिन आम नागरिक, राजनीतिक पार्टी निर्वाचन आयोग र अन्य सरोकारवालाहरू निर्वाचनमा उम्मेदवारको घटाउने विषयमा गम्भीरतापूर्वक लाग्ने बेला भएको छ।

खर्चिलो चुनावको असर

पैसाले मात्रै चुनावको अन्तिम परिणाम निर्धारण गर्दैन तर यसको प्रभाव नकार्न सकिँदैन। खर्चिलो चुनावको राजनीतिक, सामाजिक र आर्थिक असर हुन्छ। यी असरहरू अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका हुन्छन्। 

चुनावको उम्मेदवारले खर्चका लागि कोही न कोहीसँग केही न केही साँठगाँठ गर्नुपर्ने बाध्यता हुन्छ। चुनाव जितेपछि साँठगाँठ गरेकाहरूको स्वार्थ पूरा गरिदिनुपर्ने हुन्छ। यस्ता स्वार्थ पूरा गर्दा आम नागरिकको हकहित उपेक्षित हुन जान्छ। 

प्रकाशित मिति: : 2022-05-08 17:35:00

प्रतिकृया दिनुहोस्