अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत अनुशासन कमिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब श्री भगवती क्लबमाथि लगाएको जरिवाना बढाउने निर्णय गरेको छ।
अब भगवतीले एक लाख जरिवाना तिर्नु पर्नेछ। यसअघि ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलपछि श्री भगवतीका खेलाडी तथा अफिसियलहरु रेफ्रीमाथि हातपातमा उत्रिएको भन्दै एन्फाले क्लबका अफिसियल राजाराम श्रेष्ठ र विक्रम डंगोलसँगै खेलाडी अनिस श्रेष्ठलाई एक वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना लगाएको थियो।
मंगलबार बसेको कमिटीको बैठकले ‘बी’ डिभिजन लिगकै अर्को क्लब नयाँबस्ती यूथ क्लबमाथिको जरिवाना एक लाख ५० हजारमा घटाएको छ।
‘बी’ डिभिजन लिगअन्तर्गत मध्यपुर यूथ एसोसिएसनसँग ३–१ पराजित हुँदा नयाँबस्तीका खेलाडी र अफिसियलहरुले रेफ्रीहरुमाथि अभद्र व्यवहार गरेको एन्फाले जनाएको छ।
यसअघि एन्फाले नयाँबस्तीलाई तीन लाखको जरिवाना लगाउने निर्णय गरेको थियो।
यस्तै, अनुशासन कमिटीले नयाँबस्तीका व्यवस्थापक विकाश राईमाथि ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग कमिटीको निर्णयमा भने समर्थन जनाएको छ।
हिजोनै बसेको लिग कमिटीको बैठकले आरसी ३२ स्पोर्ट्स एकेडेमीलाई १ लाख ५० हजार जरिवाना तोकेको थियो।
आइतबार ‘सी’ डिभिजन लिगअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबविरुद्धको खेलपछि रेफ्री र म्याच अफिशियलहरुविरुद्ध अभद्र व्यवहार गरेको भन्दै एन्फाको अनुशासन कमिटीले आरसी ३२ का खेलाडी अनिस श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रविन राईलाई समान एक वर्षको प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धसँगै उनीहरूले एन्फाले अनुमति दिएको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यस्तै, आरसी ३२ का अफिसियल सञ्जीव कार्की र टिम व्यवस्थापक अनुप भट्टराईलाई लिगका आगामी खेलमा प्रतिबन्ध गरेको छ।
यस्तै, अनुशासन कमिटीले आरसी ३२ का प्रतिनिधि रविन चन्दलाई फुटबल गतिविधिबाट एक वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रतिबन्ध सोमबारदेखि नै लागू भएको एन्फाले जनाएको छ।