आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जिल्लाका सबै मतदात केन्द्रमा पुगेका छन्।
जिल्लामा रहेको १८२ मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।
उनले भने, 'जिल्लामा निर्वाचनका लागि आएको सबै मतपेटिका, मतपत्रलगायत आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानकोसहित दुई हजार ३५० जना सुरक्षाकर्मी र मतदात अधिकृत, सहायक मतदान अधिकृतलगायतका गरी ९८५ जना कर्मचारी खटिएको उनको भनाइ छ।
जिल्लामा १२३ मतदानस्थल अन्तर्गत १८२ मतदान केन्द्र छन्। १८२ जना मतदान अधिकृत र १८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन्।
यसमा ३४९ जना सहयोगी कर्मचारी र १८२ जना कार्यालय सहयोगी खटिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ। प्रत्येक मतदान केन्द्रमा तीन÷तीनजना गरी ५४६ जना स्वयंसेवक खटाइने भएको छ।
एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताए।
उनका अनुसार ५०० भन्दा कम मतदाता रहेको १५ मतदान केन्द्र छन्। ५०० सम्म मतदाता रहेको केन्द्रमा एकजना सहायक कर्मचारी र ५०० बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिने भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगबाट आएको ५८ प्रकारका सामग्रीसहित अन्य आवयक सामग्री समेत पठाएको छ।
यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गत आइतबार तालिमसमेत प्रदान गरेको थियो।
जिल्लामा एक लाख ३१ हजार ४९४ जना कूल मतदाता छन्। त्यस्तै, २२ अतिसंवेदनशील, ८० संवेदनशील तथा २१ सामान्य रहेको बताइएको छ।