घरको भान्छाबाट सुरू भएको 'मिस्टर मःम', दैनिक बिक्छ ४० हजारको

सेतोपाटी

निर्मला घिमिरे

तपाईं सामिष खाना अर्थात माछामासु पनि खाने उपभोक्ता हो भने मःम त अवश्य नै खानुभएको छ। निरामिष खाना खानुहुन्छ अर्थात माछामासु खानुहुन्न भने पनि भेज मःम खानुभएकै होला।

छिटो र मीठो खाजा मानिने मःम प्रिय भइकन उपभोक्ताहरूको गुनासो पनि सुनिन्छ। कस्तो किमा हुन्छ, के मिसावट हुन्छ!

उपभोक्ताको यही गुनासो सम्बोधन गर्दै ब्रान्ड बन्ने प्रयासमा छ 'मिस्टर मःम'।

'गुणस्तरकै कारण मिस्टर मःमले छोटो अवधिमै ग्राहकको मन जितेको छ,' सिनामंगलमा रहेको मिस्टर मःमका सहसंस्थापक राजीव बस्नेतले भने, 'हामीले मैदाभित्र गुणस्तरीय किमा हाल्छौं। एक पटक खाएपछि ग्राहक फेरि आउने गरी पस्किएका छौं।' 

मिस्टर मःम एक वर्षअघि गोठाटारका युवा दाजुभाइ राजेश र राजीवले सुरू गरेका हुन्। उनीहरूले आफ्नै घरको भान्छाबाट मःम पकाउन थालेका थिए। यहाँको मःम अनलाइन अर्डर गरेर मगाउन पाइन्छ। पारखीहरूको आग्रहअनुसार पछि उनीहरूले सिनामंगलमा रेस्टुरेन्ट राखे। ग्राहकले त्यहाँ बसेर खान पाउने सुविधा छ। 

कोरोनाकालमा दोस्रो लकडाउन सुरू हुनुभन्दा एक साताअघि मात्र यो रेस्टुरेन्ट खुलेको हो। राजीवका अनुसार मिस्टर मःमले अहिले दैनिक कम्तीमा ४० हजार रूपैयाँको मःम बिक्री गर्दैछ। 

प्रकाशित मिति: : 2022-05-11 11:59:00

प्रतिकृया दिनुहोस्