सङ्कटको सङ्केत

अब पनि सुझबुझ नदेखाउने हो भने अर्थतन्त्र थप जटिल मोडमा पुगी राजस्व कम भई कर्मचारीले तलबै खान नसक्ने स्थिति आउन सक्छ।

हिमाल खबर

डिल्लीराज खनाल

अर्थतन्त्र उत्पादनशील नभएका देशको आर्थिक-सामाजिक रूपान्तरण पनि ठीक ढङ्गले हुँदैन। उत्पादकत्व र बचतमा कमी तथा अनुत्पादक लगानीले अर्थतन्त्रको अपेक्षित विस्तार नहुँदा गरीबी निम्तिन्छ। नेपालमा पनि जस्ता संरचना र व्यवस्था छन्, ती अर्थतन्त्रको विस्तार र विकासका लागि अनुकूल छैनन्। श्रमशक्ति र उपलब्ध स्रोतसाधन उत्पादनशील बनाउन साहसी निर्णय नहुँदा अर्थतन्त्रको उत्थान र रूपान्तरण पछि धकेलिएको छ।

उत्पादनशील क्षमता मानवीय पूँजी र स्रोतसाधनको विकाससँग जोडिन्छ। शिक्षा, स्वास्थ्य, उद्योगी व्यवसायीको क्षमता, सूचना प्रविधिको विकास तथा संस्थागत/संरचनागत परिपाटी उत्पादनशीलताका आधारभूत पक्ष हुन्। हाम्रो जस्तो अर्थतन्त्रमा जनसाङ्ख्यिक लाभ लिने पक्ष अझ महत्त्वपूर्ण हुन्छ।

युवा जनशक्तिलाई सही तरीकाले उपयोग गरे विकासमा छलाङ मार्न सकिन्छ। उत्पादित वस्तुको बजार पहुँचले उत्पादनशील क्षमतासँग विशेष सम्बन्ध राख्छ। मानवीय पूँजी र क्षमता विकाससँगै अवसर पनि सिर्जना गरिनुपर्छ जुन आर्थिक/सामाजिक रूपान्तरणसँग जोडिएको हुन्छ।
 

प्रकाशित मिति: : 2022-05-25 18:00:00

प्रतिकृया दिनुहोस्