आईपीएल : उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

photo: BCCI/IPL
photo: BCCI/IPL

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी- २० प्रतियोगिताको उपाधिका लागि केहीबेरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

अहमेदावाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइलन खेल नेपाल समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ। एक पटक उपाधि जितिसकेको राजस्थान रोयल्सविरुद्ध मैदान उत्रँदा गुजरात टाइटन्स ‘डेब्यु’ सिजनमै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ।

आईपीएलको पहिलो सिजन सन् २००८ को उपाधि जितेयता पहिलो पटक फाइनल पुगेको राजस्थान गुजरातविरुद्ध प्लेअफमा व्यहोरेको हारको बदला लिन चाहन्छ। लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको गुजरातले पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई नै पराजित गरेको थियो।

यस्तै, गुजरातसँगको हारका बाबजुद दोस्रो क्वालिफायरमा इलिमिनेटर जितेर आएको रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले फाइनलमा पुनः गुजरातसँगको भेट पक्का गरेको हो। 

यसअघि गुजरातले लिग चरणका १० खेलमा अपराजित रहँदै २० अंक जोडेर प्लेअफमा स्थान बनाएको थियो। नयाँ टिमको रुपमा ‘डेब्यु’ सिजनमै फाइनलको टिकट काटेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई सात विकेटले हराएको थियो।

फाइनलमा गुजरातले पुनः राजस्थानकै सामना गर्दै छ। यी दुई टिमबीचको पछिल्लो दुई खेलमा हार्दिक पन्ड्याको नेतृत्वमा रहेको गुजरात केही बलियो देखिएको छ। यस सिजन लयमा रहेका कप्तान हार्दिकले अहिलेसम्म चार सय ५३ रन जोडेका छन्।

हार्दिकसँगै गुजरातका डेभिड मिलर, माथेव वेड, रिद्धिमान शाह, मोहम्मद सामी, रसिद खान निकै लयमा छन्। 

यता, राजस्थानले दोस्रो पटक आइपीएलको फाइनलमा स्थान बनाएको हो। पहिलो क्वालिफायरमा गुजरातसँगको हारका बाबजुद दोस्रो क्वालिफायरमा बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले फाइनलमा स्थान पक्का गरेको थियो।

राजस्थानबाट यस सिजन लयमा रहेका जस बटलरले चार शतक प्रहार गर्दै विराट कोहलीको कीर्तिमानसँग बराबरी गरेका छन्। यसअघि आईपीएलको एकै सिजन कोहलीले मात्र चार शतक प्रहार गरेका थिए।

चार सतकको सहयोगमा बटलरले अहिलेसम्म आठ सय २४ रन बनाइसकेका छन्। सन्जु सामसनको कप्तानीमा फाइनलसम्मको यात्रा तय गरेको राजस्थान गुजरातविरुद्ध मैदान उत्रिँदा दोस्रो उपाधिको लक्ष्यमा हुनेछ।

प्रकाशित मिति: : 2022-05-29 20:05:00

प्रतिकृया दिनुहोस्