गुजरात बन्यो आईपीएल २०२२ च्याम्पियन

photo: BCCI/IPL
photo: BCCI/IPL

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेटको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो।

अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे।

गुजरातलाई उपाधि दिलाउन सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए। कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए। त्यस्तै डेभिड मिलर ३२ रनमा अविजित रहे। अन्य खेलाडीले दाेहाेर अंक जाेड्न सकेनन्।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो।

उसका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे भने याशभी जैसवालले २२ रन बनाए। त्यस्तै रियान परागले १५ रन जोडे। कप्तान सन्जु सामसन १४ रनमा आउट भए।

गुजरातका हार्दिक पान्डयले ३ र साई किशोरले २ विकेट लिए।

यसअघि गुजरातले लिग चरणका १० खेलमा अपराजित रहँदै २० अंक जोडेर प्लेअफमा स्थान बनाएको थियो। नयाँ टिमको रुपमा ‘डेब्यु’ सिजनमै फाइनलको टिकट काटेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई सात विकेटले नै हराएको थियो।

यता, राजस्थानले दोस्रो पटक आइपीएलको फाइनलमा स्थान बनाएको हो। पहिलो क्वालिफायरमा गुजरातसँगको हारका बाबजुद दोस्रो क्वालिफायरमा बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले फाइनलमा स्थान पक्का गरेको थियो।

प्रकाशित मिति: : 2022-05-29 23:57:00

प्रतिकृया दिनुहोस्