त्रियुगा–१० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण पाण्डे निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकाको वडा–१० मा वडाध्यक्षको मत गणना रोचक बनेको छ।  

वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशकुमार खड्का र एमाले उम्मेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो। 

बराबरी मत आएपछि गोलाप्रथामार्फत एमालेका किरण पाण्डे विजयी भएका छन्। 

नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए। मत बराबरी आएपछि जितको टुंगो लगाउन गोलाप्रथा गरिएको थियो। 

गोलाप्रथाबाट वडाध्यक्षमा कांग्रेससका प्रकाशकुमार खड्का पराजित भएका हुन्। पराजित भएका खड्का नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका सभापति समेत हुन्। 

यस्तै वडा सदस्यहरुमा पनि चारै जना नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। खुल्ला सदस्यमा १०९६ मत ल्याएर सनिदेवि मगर र १०३६ मतका साथ तिलकबहादुर सार्की विजयी भएका हुन्। 

महिला सदस्यमा आशा राईले १२०८ मत ल्याएर विजयी हुँदा दलित महिला सदस्यमा उर्मिला विक १११६ मतले विजयी भइन्। 

उदयपुरको मुकाम पालिकासमेत रहेको त्रियुगाको मेयरमा भने यसपटक नेपाली काङ्ग्रेसका बसन्त कुमार बस्नेत विजयी भएका छन्। बस्नेत १३९५९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भगवत राउतले ११८७३ मत ल्याए। 

उपमेयरमा भने नकपा एमालेले जित हात पारेको छ। एमालेकी महेश्वरी राईले १३७०३ मत ल्याएर जितेकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकि सरिता राईले ११९८१ मत प्राप्त गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-05-30 21:45:00

प्रतिकृया दिनुहोस्