प्रदेश १ को नामाकरण गर्न कांग्रेस र एमाले सहमत

बजेटपछि नामाकरण गरिने

File Photo
File Photo

प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन्।

चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई दल सहमत भएका हुन्।

आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए। छलफलमा उनीहरु जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन्।

एमाले नेता कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताए। साेमबार संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गरेका थिए।

एमालेले गठन गरेको कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई सदस्य छन्।

सत्तारुढ गठबन्धनले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा नामका विषयमा छलफलका लागि कार्यदल बनाएको थियो।

प्रकाशित मिति: : 2022-06-13 11:21:00

प्रतिकृया दिनुहोस्