अमेरिकामा 'लक्काजवान'को प्रदर्शन सुरू

नेपाली चलचित्र लक्काजवान अमेरिकामा प्रदर्शन हुन थालेको छ  । प्रस्तुतकर्ता ध्रुव वन्त र निर्मात्री अनसुया श्रेष्ठ वन्तको गृहराज्य मेरिल्याण्ड र छिमेकी राज्य भर्जिनियाबाट प्रदर्शन सुरू भएको चलचित्र अमेरिकाका अन्य राज्यहरूमा पनि प्रदर्शन हुने मिति तय भएको छ । 

प्रदर्शनको पहिलो चरणमा अमेरिकामा बाक्लो नेपाली डायस्पोरा रहेका राज्य र सहरहरूमा प्रदर्शन हुने छ । निर्मात्री अनसुयाका अनुसार न्युयोर्क, बोस्टन, डल्लास, सानफ्रान्सिस्को, लस एञ्जलस, एटलान्टालगायतका सहरमा प्रदर्शनको व्यवस्था गरिदैछ । अन्य ठाउँहरूमा पनि प्रदर्शनका लागि माग भएको जनाइएको छ ।

बाल्टिमोरमा लक्काजवान चलचित्र हेर्नेहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार यो चलचित्र एक पारिवारिक चलचित्र हो , परिवारका सबै सदस्यहरू एक साथ बसेर मनोरञ्जन लिन सकिन्छ । 

बाल्टिमोरमा लक्काजवान हेर्नेमा डेलिगेट डा. ह्यारी भण्डारी पनि थिए । उनले चलचित्र लक्काजवानलाई नेपालीपनको चलचित्र, नेपाली मनको चलचित्र भनेर यसको प्रशंसा गरेका छन् । उनी भन्छन्, 'नेपाली चलचित्र ‘लक्काजवान’ हेर्ने मौका मिल्यो, त्यो पनि चलचित्रकानिर्देशक श्री शिवहरि पौड्याल अनि प्रस्तुतकर्ता श्री ध्रुव वन्त र निर्मात्री तथा कलाकार श्री अनुशया श्रेष्ठ वन्तका साथ। नेपाली पन र नेपाली मनको राम्रो चलचित्र बनेको रहेछ, सपरिवार बसेर हेर्न मिल्ने यो चलचित्रले स्वस्थ मनोरञ्जन प्रदान गर्छ भन्ने मलाई लागेको छ।'

यो चलचित्र बाल्टिमोरकै अग्रज व्यक्तित्व ध्रुव वन्त र अनुशया श्रेष्ठ वन्तले निर्माण गर्नुभएकोले पनि यो चलचित्रसँग मेरो एक किसिमको प्रोक्सिमिटी रहेको छ । उहाँहरू दुबैजना कलाकार तथा कलाका पारखी हुनुहुन्छ र नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्दै आउनु भएको छ ।
- डेलिगेट डा. ह्यारी भण्डारी

चलचित्र बाल्टिमोरकै अग्रज व्यक्तित्व ध्रुव वन्त र अनशुया श्रेष्ठ वन्तले निर्माण गर्नुभएकोले पनि यो चलचित्रसँग आफ्नो एक किसिमको प्रोक्सिमिटी रहेको बताउदै डेलिगेट डा. भण्डारी लेख्छन्, ' उहाँहरू  दुबैजना कलाकार तथा कलाका पारखी हुनुहुन्छ र नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्दै आउनु भएको छ । चलचित्र 'लक्काजवान' त्यही क्रममा उहाँहरूले निर्माण गर्नुभएको चलचित्र हो । यसलाई एक गैरआवासीय नेपाली परिवारले स्वदेशको चलचित्र उद्योगमा स्वच्छ मनले गरेको लगानीका रूपमा लिनुपर्छ । उहाँको यो लगानीबाट स्वदेशमा रोजगारी सिर्जना हुनुका साथै चलचित्रसँग सम्बन्धित अन्य क्षेत्रलाई सहयोग पुगेको छ।'

हाँस्य अभिनेताका रूपमा ख्याति कमाएका शिवहरि पौड्यालको डेब्यु निर्देशन रहेको चलचित्रबाट निर्मात्री अनसुया श्रेष्ठ वन्तले पनि डेब्यु गरेकी छिन् । चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, सरोज खनाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेकोछ ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको छायांकन पुरुषोत्तम प्रधानको  रहेको छ । 

प्रकाशित मिति: : 2022-06-24 21:13:00

प्रतिकृया दिनुहोस्