भिएनएलः फ्रान्सको दबदबा कायम

नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ। 

शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ। फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो। 

यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो। १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५-१७, २५-१९, २५-११ को जित निकाल्यो।  

अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हरायो । इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हरायो। 

जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ। यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन्। 

प्रकाशित मिति: : 2022-06-26 13:30:00

प्रतिकृया दिनुहोस्