असारे विकासको पहरेदारी

नागरिक दैनिक

डा. सुरेश आचार्य

हिउँदभरि चूपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त छन्। असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिन/दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ।

त्यसैले हतार–हतार काम सक्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कर्मचारी लागेका छन्। हत्पतको काम लत्पत भन्ने नेपाली उखान जिल्लाका अधिकांश विकास निर्माणको कामले पुष्टि गर्छ।

असारे विकासको सबैभन्दा ठूलो प्रभाव सडक क्षेत्रमा परेको छ। अहिले सडक निर्माण, मर्मत/सम्भारलगायतका नाममा जिल्लाको विभिन्न स्थानमा सडक र नाली ठाउँ–ठाउँमा भत्काइएका छन्। नाली र सडक भत्काएर सडकमा माटो थुपारेका कारण अधिकांश सडक रोपाइँ गर्न ठीक पारेको खेतजस्तै भएका छन्। यो रामेछाप जिल्लाको खबर हो।

यो खबर केवल रामेछापको होइन। न यो खबर यो वर्ष मात्र छापिएको हो। यो देशभरको नेपाली विकास मोडल हो। राजधानी सहर पनि यो पीडाबाट आजपर्यन्त मुक्त छैन। मिडियाले यो विषय उठाउन छाडेको छैन। तर सँगै सरकार र राज्य संयन्त्रहरूले मिडियाले उठाएका नागरिक आवाज र विकासप्रतिको नागरिक चिन्तालाई ध्यान दिनु आवश्यक ठानेका छैनन्।

विकासको यो मोडलको जानकारी नराख्ने कुनै नेता छैनन्, कोही मन्त्री छैनन्। तर ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ को यो अवस्था नागरिक प्रतिनिधित्वका आधारमा बनेको सरकारले समेत सुन्न चाहँदैन भने कस्तो सरकारको परिकल्पना गर्ने? कस्तो शासन पद्धतिबाट देश विकासको नयाँ मोडलको परिकल्पना गर्ने?

प्रकाशित मिति: : 2022-07-11 14:19:00

प्रतिकृया दिनुहोस्