विश्व तेक्वान्दोमा अशोक निर्णायक

विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन्।

प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ। साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ। दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। 

प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ। कोर्समा पनि अशोक सहभागी हुने छन्।

निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी गराए। उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन्।

वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो। यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित मिति: : 2022-07-22 19:06:00

प्रतिकृया दिनुहोस्