बर्माका चर्चित नेपाली गायक पदम थापाको निधन भएको छ। उपचारको क्रममा रहेका ७६ वर्षीय गायक थापाको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उच्च रक्तचापका कारण उनलाई एक महिनाअघि माण्डलेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। लगतै कलाैंस्थित गृहनगर फर्किएका गायक थापाकाे आफ्नै घरमा निधन भएको बर्मेली नेपाली वरिष्ठ साहित्यकार लक्ष्मण न्याैपानेले जानकारी दिएका छन्।
'बिगत २५ दिनदेखि रक्तचाप रोगको उपचार गर्दागर्दै अन्तिममा कलौँ नगर अउंबान उपशाखास्थित आफ्नै गृहमा ७६ वर्षकाे उमेर पुगेका हाम्रा प्रिय दाइले आज बिहान ६ बजे देहत्याग गर्नुभयो। पदम दाइको पार्थिव शरिरलाई आजै मध्यान्न्ह २ बजे वैदिक परम्परा अनुकुल आउंबान हिन्दू घाटमा अन्तिम संस्कार गरिने,' बर्माका वरिष्ठ साहित्यकार न्याैपानेले भने।
बर्मा नागरिक थापाले एक सयभन्दा धेरै नेपाली गीत बजारमा ल्याएका छन्।
बर्माकाे नेपाली गीतिक्षेत्रका स्वरसम्राटका रूपमा चिनिएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेको जानकारहरू बताउँछन्।
'वर्षाको झरी जस्तो', 'मेरो आँसु किन बगीरहन्छ' जस्ता कैयाैँ कालजयी गीत रचना गरी गाएका छन्।