नेक्स्ट टप मोडलको अवधारणालाई लिएर नेपालमा पहिलो पटक 'एकसेएकरनवे-२०२२' आयोजना गरिएको छ।
सेन्ट्रल फेसन हब उर्लाबारी र साहरा इन्टरटेनमेन्ट धरानले उक्त शाे आयोजना गरेकाे हाे।
अरू शाे भन्दा 'एकसेएकरनवे-२०२२' फरक रहेकाे आयोजकले जनाएको छ।
'एकसेएकरनवे' फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित रहेकाे आयोजक जीवन चिमोरियाले जानकारी दिए। उनका अनुसार प्रतियोगीहरुलाई निश्चित समय दिइन्छ जसमा कार्य पूरा गर्नुपर्ने हुन्छ।
'प्रतियोगीहरूले गर्ने कार्यहरुमा व्यावसायिक प्रायोजन, उत्पादन वा व्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइनेछ' उनले भने।
स्विमिङ पुल र वरपरको ‘रिफ्रेसमेन्ट थिम’बाट सुरु गरी ‘ग्लैमर थिम’ अन्तर्गत इन्डोर सुटिङ गरी २ चरणमा प्रतिस्पर्धा गर्ने मोडलहरूको फोटो सुटिङ सम्पन्न गरिएको अर्का आयोजक सौगात रिजालले जानकारी दिए।
गत बुधबार उर्लाबारीको मदन भण्डारी पार्कमा ‘रिफ्रेसमेन्ट थिम’मा र शनिबार इटहरीको परिकला फोटोग्राफीको स्टुडियोमा ‘ग्लैमर थिम’ फोटो सुट गरिएको थियो।
यस फेसन शोको ३ स्थानमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा भएको अडिसनमा ४५ युवती सहभागी थिए, जसमध्ये १८ फाइनल चरणका लागि छनोट भएका छन्।
आयोजकका अनुसार फोटोसुटको थिमका लागि केही चरण बाँकी छ। त्यसपछि, अन्तिम राउन्डमा यी १८ प्रतिस्पर्धी मोडलहरूले अन्तिम कार्य गर्दै म्युजिकल फेसन रनवे शोको साथ समाप्त हुनेछ।
फाइनलमा यस शोका प्रतियोगीहरूले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरूको पहिरनमा र्याम्प वाक गर्ने छन्।