विकास प्राधिकरणमा जानुकाकाे रजाइँ, झ्यालबाट छिराएर श्रीमानलाई जागिर

उमेश थापा

काठमाडौं

काठमाडाैँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकालले पदको दुरुपयाेग गर्दै श्रीमानलाई पनि नियुक्ति दिएकी छिन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमार्फत् प्राधिकरणमा भित्रिएकी ढकालले श्रीमानलाई पनि करार सेवामा भर्ती गरेकाे उपत्यका विकास प्राधिकरणका एक अधिकारीले बिएल नेपाली सेवालाई जनाएका छन्।

विकास आयुक्त ढकालले नियुक्ति पूर्व विभागीय मन्त्रीलाई लाखाैँ बुझाएर 'झ्याल'बाट उपत्यका विकास प्राधिकरणमा छिरेकाे कैयाैँले गुनासाे गरेका छन्। यतिबेला प्राधिकरणमा उनै ढकालकाे दबदबा कायमै छ। उनीमाथि चरम अनियमिमता गरेकाे गम्भीर आराेप पनि लागेकाे छ।

प्राधिकरणमा आफूले नियुक्ति पाएकाे डेढ वर्ष नपुग्दै उनले श्रीमान विनोद पछाईंलाई करार सेवामा परामर्शदाताका रूपमा नियुक्ति गरेकी हुन्। विनोद कार्यालयमा कम जान्छन्। प्रायः अनामनगरतिरै भेटिन्छन्। श्रीमती विकास आयुक्त भएको फाइदा भरपुर रूपमा उठाएका छन्।

स्राेतकाअनुसार श्रीमतीमार्फत् उपत्यका विकास प्राधिकरणमा जागिर खाइरहेका पछाईंकाे कार्यालयमा काम नै छैन। ‘विनोद सर कार्यालय आउनुहुन्छ। चिया पिउनुहुन्छ। बेला–बेला बाहिर–बाहिर डुल्नुहुन्छ। काम चाहिँ के गर्नुहुन्छ? अनि तलब–भत्ता पचाउनुहुन्छ,' एक कर्मचारीले भने।

काठमाडौँको सुनियोजित विकासका लागि योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएकी उनी अनुभवहीनजस्तै छिन्। 'प्राधिकरणमा भित्रिएपछि ढकालज्यूले श्रीमानलाई करार सेवामा भर्ती गर्नु बाहेक अर्काे राम्राे काम गर्न सक्नुभएकाे छैन,' उपत्यका विकास प्राधिकरणका एक अधिकृतले जनाएका छन्।

नवनारी पत्रिकाकी पूर्वसम्पादक ढकाल र ठेकेदार पृष्ठभूमिका उनका श्रीमान पछाईं पालैपालाे विकास आयुक्त र परामर्शदाताका रूपमा नियुक्त भएपछि कर्मचारीसमेत आश्चर्यचकित छन्। प्राधिकरणमा आएकाे डेढ वर्ष नबित्दै श्रीमानलाई नियुक्ति थमाएर विवादमा तानिएकी उनी फेरि अर्काे कार्यकाल हत्याउने दाउमा छिन्।

क्षमता र योग्यता नहेरी व्यक्तिगत र राजनीतिक सम्बन्धका आधारमा सार्वजनिक निकायमा पद बाँड्ने प्रवृत्तिले उपत्यका विकास प्राधिकरण खाेक्राे भएकाे छ। कतिपय व्यक्तिहरूले सुरूदेखि नै उपत्यकासँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई विकास आयुक्त नियुक्ति गरेकाे भन्दै तीव्र आलोचना गर्दैआएका छन्। 

बाहिरी रिङरोड परियोजनासमेतको नेतृत्व गर्ने प्राधिकरणमा अनुभवहीन व्यक्तिलाई नियुक्त गरिएको भन्दै उपत्यकावासीले बारम्बार असन्तुष्टि पोख्दै आएका छन्। 'तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा खाएर अयाेग्य मान्छे उपत्यका विकास प्राधिकरण थुपारे। अब पनि देउवा त्यस्तै पैसावाला मान्छे खाेजिरहेका छन्। याे कस्ताे लाजमर्दाे हर्कत हाेला,' प्राधिकरणका एक पूर्वअधिकारीले भने।

काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा ‘नेपाल सरकारले विशिष्ट श्रेणी वा सोभन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्धप्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा विकास आयुक्तमा नियुक्त गर्ने’ व्यवस्था छ।

परामर्शदाता पछाईंले श्रीमतीकाे दया–मायामा जागिर मात्रै पाएका छैनन्, उनले सरकारी नम्बर प्लेटको गाडीलाई निजी पनि बनाएका छन्। श्रीमती माथिल्लाे पदमा भएकाे माैका छाेपेर पछाईंले जताततै मनोमानी चलाएका छन्। उनले इन्धन खर्चसमेत प्राधिकरणबाट लिँदै आएका छन्। 'करारका कर्मचारीलाई पनि गाडी दिने गरिन्छ र? विनोद सरले चढ्दै आएको गाडीको नम्बर बा १७ च ४२५७ महिन्द्रा स्कारपियाे हो,' विकास आयुक्त ढकालनिकट एक कर्मचारी बताउँछन्।

उनी चढ्ने गाडीको बजार–मूल्य ५० लाखभन्दा माथि रहेको बताइन्छ। सरकारी गाडीमा रातो नम्बर प्लेट चिप्काएर दुरुपयोग गर्दा पनि उनीमाथि औँला उठाउन सक्ने कसैकाे हिम्मत छैन। स्राेतकाअनुसार उनी चढ्ने गाडी हरबखत अनामनगर चोकमै भेटिन्छ। गाडी निजी नम्बर प्लेटमा देखिन्छ, बिलबुक भने सरकारको नाममा छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणकाे विकास आयुक्त पदका लागि ढकालसहित डा.श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम विभागीय मन्त्रालयबाट मन्त्रिपरिषद्मा सिफारिस भएकाे थियाे। तर, तत्कालीन प्रधानमन्त्री ओलीले गृहजिल्लाकै ढकाललाई थप जाेडबल गरेकाे स्राेतकाे दाबी छ।

एमाले अध्यक्ष ओलीनिकट ढकालकाे ठेकेदार र व्यापारीसँग निकट सम्बन्ध बनाएकाे बेलाबखत चर्चा गरिन्छ। उनी र विभागीय मन्त्रीकाे आडमा २०७८ वैशाख २१ गते प्राधिकरणको विकास आयुक्तको रूपमा नियुक्ति गरिएको थियो।

प्रकाशित मिति: : 2022-08-03 22:15:00

प्रतिकृया दिनुहोस्