सप्तकोशीको कहर : स्थानीयलाई दोहोरो त्रास

रातोपाटी

अर्जुन आचार्य

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ । 

२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको सप्तकोशीले पुनः सोही धार समात्न खोजेपछि त्यहाँका २ हजार ५ सय घर परिवार विस्थापनको जोखिममा छन् । जोखिममा पर्नेहरु १ हजार ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा लगि सकिएको छ । 

पानीको सतह बढ्दै गएको खण्डमा अरु १ हजार परिवार सार्नुपर्ने अवस्था रहेको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए । पुरानै धारमा कोशी फर्किएको खण्डमा बेलका नगरपालिकाको सोमबारे, डुम्रिबोट, मसानघाट, धौरीटप्पु, चिलिया, रामनगर आदि लगायतका वस्तीबाट सप्तकोशी बग्नेछ । 

सप्तकोशी आजभन्दा १६० वर्ष अगाडि चक्रघट्टी, इटहरी हुँदै ब्रम्हपुत्रमा पुगेर मिसिन्थ्यो । सप्तकोशी पूर्वतिर नै केन्द्रीत हुँदै बगिरहेको थियो । जब २०२१ सालमा चतरामा नहरको हेडबक्स बन्यो, त्यसपछि सप्तकोशी पश्चिमतिर ढल्केको हो । ‘२०४५ सालको भूकम्पमा जमिन चल्मलाउँदा पानीको मुख्य बहाब पुनः पूर्वतिर लागेको थियो,’ बेलका–३ का स्थानीय सुशील सेढाई बताउँछन् । 

प्रकाशित मिति: : 2022-08-04 13:24:00

प्रतिकृया दिनुहोस्