ट्रम्प निबासमा एफबीआईको छापा, सेफ पनि फुटाइएको खुलासा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार-ए-लागो निबासमा अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ। अनपेक्षित रूपमा छापा मारिएको बेला न्युयोर्कमा रहेको ट्रम्पले एक प्रेस विज्ञप्ती जारी गरी घटनाको पुष्टि गरेका छन् ।  

उनले 'यो हाम्रो देशको लागि कालो समय हो' भन्दै बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको बताएका छन् । उनले  सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न "न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको" आरोप लगाएका छन्।

यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ । दु:खको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ। उनीहरूले मेरो सेफ पनि फुटाए।
- डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति

छापा मारिएको घटनालाई लिएर अमेरिकी राजनीतिक वृत तरङ्गीत भएको छ । र, मिडियाहरूमा मिश्रित प्रतिक्रिया देख्न/पढ्न पाइएका छन् । 

डेमोक्रेटहरूले छापाको समर्थन गर्दै  एक स्वरमा कोही पनि कानूनमाथि नरहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले एफबीआईले आफ्नो कार्यक्षेत्र र सीमामा बसेर नै छापा मारेको हुनसक्ने बताउँदै त्यसलाई अन्यथा लिन नहुने बताएका छन् ।

राष्ट्रपति कार्यालयले छापा मारिने बारेमा पूर्व जानकारी नभएको जनाउँदै "सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट" मात्र छापाबारे थाहा पाएको जनाएको छ । सभामुख नान्सी पेलोसीले कानूनमाथि कोही नभए पनि एफबीआई पनि छापा मार्नुको औचित्य पुष्टी गर्नुपर्ने बताएकी छिन् । 

अमेरिकी पूर्वराष्ट्रपति  ट्रम्पको फ्लोरिडास्थित मार-ए-लागो निबासमा एफबीआईले छापा मारेको छ । सेफ समेत फुटाएर गरिएको खानतलासीमा के के भेटियो, त्यसको खुलासा नभए पनि  अमेरिकी राजनीतिक वृत भने तरङ्गीत भएको छ ।

यस घटनालाई लिएर रिपब्लिकन पार्टीमा भने दुई धार देखिएको छ । ्ट्रम्प समर्थकहरूले यसलाई नियोजित ज्यादति भनेका छन् भने विरोधीहरू मौन रहेका छन् । 

राष्ट्रपति ट्रम्पले ह्याइट हाउस छोड्ने बेला आफूलाई अप्ठ्यारो पार्ने केही महत्वपूर्ण कागजातहरू लिएर गएको बताइन्छ । अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो। त्यही निर्देशनअनुसार कागजातहरू हात पार्न एफबीआईले पूर्वसूचना बिना नै छापा मारेको आशंका गरिएको छ । 

पूर्वराष्ट्रपति ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी दिइएको थिएन । सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट मात्र छापाबारे थाहा पाएको हो । 
- ह्याइट हाउस  

कतिपय राजनीतिक पण्डितहरू भने सन् २०२१ जनवरी ६ मा भएको क्यापिटल हिल घटनामा ट्रम्पको हात रहेको यथेष्ट प्रमाण जुटाउन अमेरिकी न्याय मन्त्रालय लागिपरेको बताउँछन् । एफबीआईको यो छापा पनि त्यही प्रयोजनका लागि भएको उनीहरू विश्वास गर्छन् । 

यसैबीच छापाबाट एफबीआईले अपेक्षित कागजात हात पार्न नसकेको समाचार केही अमेरिकी सञ्चार माध्यमले बाहिर ल्याएका छन् । यद्यपि, एपफबीआइका अधिकारीहरूले भने यस बारेमा मुख खोलेका छैनन् ।

प्रकाशित मिति: : 2022-08-09 22:23:00

प्रतिकृया दिनुहोस्