शिक्षा एमबीबीएसमा सीट घटाउन आईओएमको पत्र, आयोग भन्छ- सय विद्यार्थी पढाउनैपर्छ

हिमाल खबर

अनिता श्रेष्ठ

अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा चिकित्सा शिक्षातर्फ वर्षमा दुई पटक भर्ना लिने घोषणा गरेका थिए।

चिकित्सा शिक्षा आयोगले सरकारी संस्थामा सीट संख्या बढाएको छ। तर, सरकारी संस्थान आईओएमले भने दुई पटक भन्दा पनि सीट संख्या घटाउन माग गरेको छ।

आईओएमले चिकित्सा शिक्षाको एमबीबीएसतर्फ सीट संख्या थप गरेर अध्यापन गराउन नसकिने बताएको छ। चिकित्सा शिक्षा आयोगमा पत्र पठाएर एमबीबीएस अध्यापन गराउन भौतिक संरचना तयार नहुँदा एक सय संख्या पनि विद्यार्थी अध्यापन गराउन नसकिने जनाएको हो।

आईओएम अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसलाई आयोगले दुई वर्ष अघिदेखि एमबीबीएसमा एक सय सीट तोक्न थालेको थियो। शुरुआतमा ३० सीटमा भर्ना लिएको थियो। पछिल्लो समय ७६ सीट मात्र तोकिएको थियो।  

यसपटक पनि एक सय सीट तोकिएको छ। तर, आईओएम डीन डा. दिव्या सिंह शाहले एमबीबीएसमा एक सय विद्यार्थी पढाउन पनि गाह्रो हुने बताइन्। “हामीले अब एक सय सीटभन्दा बढी विद्यार्थी पढाउन सक्दैनौं। वर्षको दुई पटक भर्ना गर्नुपर्ने भए एक पटकमा ५० सीट मात्र पढाउन सक्छौं,” डीन डा. सिंहले भनिन्।
 

प्रकाशित मिति: : 2022-08-12 00:06:00

प्रतिकृया दिनुहोस्