पर्यटन प्रवर्द्धनका लागि ‘मिलाप’ सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ (अन्तर्वार्ता)

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रको नबौँ बैठक तथा दोस्रो विज्ञ सम्मेलन थाइल्यान्डको बैंककमा आउँदो २६-२८ अगस्टमा हुँदै छ।

एनआरएनए थाइल्यान्डका उपाध्यक्ष कान्छा गुरुङ (गाबाे) ‘मिलाप टुगेदर वी स्ट्याण्ड’ सम्मेलन नेपाल र गैरआवासीय नेपालीहरूका लागि सुनौलो अवसर भएको बताउँछन्।

सम्मेलनबाट कैयन विषय जस्तैः पर्यटक, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या र सम्भावनाका सन्दर्भमा चर्चा-परिचर्चा हुनेछन्। थाइल्यान्डमा आयोजित मिलाप सम्मेलनलगायत विषयमा उनै गुरुङसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेको संवाद :


गैरआवासीय नेपाली संघको नबौँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी कस्तो हुँदैछ?

गैरआवासीय नेपाली संघले आउँदो अगस्ट २६ देखि २८ सम्म बैंककमा नबौँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेकाे छl हामीहरूले ‘थाइल्यान्ड सम्मेलन’ एउटा भव्य र अर्थपूर्ण समारोह ठानेका छौँ। लाखौँ प्रवासी नेपालीहरूले ‘बैंकक जमघट’लाई ठुलो उत्सवका रूपमा हेरेका छन्।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनका लागि शीर्ष नेतृत्वसँगै एनआरएनए थाइल्यान्ड र थाई–नेपाली संघका प्रतिनिधि खटिएका छौँ। त्यसो त नबौँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

सम्मेलनको पूर्व तयारीका लागि कति सदस्यीय समिति बनेको छ?

‘मिलाप’ टुगेदर वी स्ट्याण्ड सम्मेलनको संयोजकका पारसमणि पोखरेलज्यू संयोजक हुनुहुन्छ। एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतकाे निम्ताेमा एनआरएनए थाइल्यान्डका एनसीसी पदाधिकारी तथा थाइ नेपाली संघका सदस्यसहित ११ जनाको एउटा स्थानीय सामाजिक समिति बनेको छ।

त्यो समूहले सम्मेलनलाई भव्य बनाउनका लागि कैयन कामहरू धमाधम गरिरहेको छ। गैरआवासीय नेपाली संघका शीर्ष पदाधिकारी तथा संस्थापकज्यूबाट नबौँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी समूहलाई पूर्णरूपमा सहयोग पाइरहेका छौँ।

‘मिलाप’ सम्मेलनमा कुन–कुन देशबाट कति–कति सदस्य सहभागी हुँदैछन्?

सम्मेलनमा चीन, म्यान्मार, थाइल्यान्ड, मलेसियासहित ३० देशबाट झण्डै तीन सय प्रतिनिधि बैंकक आउँदै छन्।

‘मिलाप’ सम्मेलनको सम्बोधनका लागि खास–खास अतिथिहरू को–को आउँदै छन्?

मलाई जानकारी भएसम्म नेपालबाट माननीय श्रममन्त्री शेरबहादुर कुँवर, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमाले सांसद डा. सूर्य पाठकज्यू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका अध्यक्ष तथा पदाधिकारी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्टलगायत एनआरएनएका शीर्ष अभिन्ताहरू, थाइल्यान्डका लागि नेपाली राजदूत, व्यवसायी, चर्चित सञ्चारकर्मी, नेपाल सरकारका उच्च अधिकारी तथा कैयौँ सामाजिक क्षेत्रका प्रतिनिधिको उपस्थिति हुनेछ।

सम्मेलन बैंककको कुन होटलमा आयोजना हुँदैछ?

एनआरएनएको एसिया क्षेत्रीय नबौँ बैठक तथा दोस्रो विज्ञ सम्मेलन बैंककको पाँचतारे मिलिनियम हिल्टन होटलमा हुँदैछ।

एसिया क्षेत्रीय सम्मेलन किन आयोजना गरिएको हो?

आम–नेपाली र गैरआवासीय नेपालीका सन्दर्भमा मिलाप सम्मेलन एकदम महत्वपूर्ण छ। नेपाल र नेपालीहरूका लागि सुनौलो अवसर पनि हो।

नेपाल एउटा सुन्दर देश हो। पूर्वमेचीदेखि पश्चिमसम्म अनेकौँ पर्यटकीय क्षेत्रहरू छन्। नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण छ। त्यहाँका हरेक क्षेत्रमा लगानी गर्नका लागि गैरआवासीय नेपालीहरू सधैं तयार छन्। त्यसको वातावरण सरकारले गर्नुपर्छ। तर राजनीतिक, आर्थिक र सामाजिक रूपमा कतिपय सानातिना कमीकमजोरी पनि छन्। ती समस्यालाई यसपटक थाइल्यान्ड सम्मेलनमा मसिनोगरी केलाउने छौँ।

नेपालमा पर्यटन प्रवर्द्धन र आर्थिक विकासकाे लागि मिलाप सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ। हामीहरू विकास, शिक्षा, स्वास्थ्य, पर्यटक, रोजगारी र अझ भनौँ सम्भावनाका कुरा गर्ने छौँ। यसबारेमा गैरआवासीय नेपाली संघका शीर्ष अभियन्ताहरूले थप योजना पनि बताउनुहुनेछ।

आउँदो सम्मेलन कुन–कुन विषयमा केन्द्रीत हुनेछ?

थाइल्यान्डमा ‘मिलाप टुगेदर वी स्ट्याण्ड’ नारासहित एनआरएनएको एसिया क्षेत्रीय नबौँ सम्मेलन गरिँदै छ।

यो सम्मेलनमा कैयन विषय वस्तुहरू उठ्ने छन्। खासगरी नेपालमा लगानी र गैरआवासीय नेपालीकाे हक-अधिकारका विषयमा सम्मेलन केन्द्रीत हुनेछ। सम्मेलनले नेपाली युवा र महिलाकाे समावेशीकरण र नेतृत्वकाे समस्यालाई पहिचान गरेर समाधानको विषय पनि छलफल हुनेछ।

थाइ सरकारका प्रतिनिधि पनि सहभागी हुन्छन्?

यो एकदम महत्वपूर्ण प्रश्न हो। एनआरएनए थाइल्यान्डको एउटा प्रतिनिधि मण्डलले शुक्रबार थाइल्यान्डका लागि नेपाली राजदूतसँग भेटवार्ता गरेको छ। नेपालबाट श्रममन्त्री शेरबहादुर कुँवर बैंकक आउने पक्का भएपछि थाइ सरकारको प्रतिनिधित्व गरेर सोही दर्जाका मन्त्रीलाई निमन्त्रणा गर्ने याेजना छ।

प्रकाशित मिति: : 2022-08-13 05:50:00

प्रतिकृया दिनुहोस्