जुम्लामा राेपाइँ जात्राकाे राैनक (फोटोसहित)

जात्राकाे दाेस्राे दिन जुम्लामा रोपाइँ जात्रा निकालिएको छ। 

किसानहरु काम सकेर फेर्सदिलाे हुने बेला समयमा जेठमा राेपिने मार्सी धानकाे प्रतिरुप जात्रामा देखाइने गरिएकाे छ। 

पुरुषहरुले महिलाहरुको रुप धारण गरेर अघि-अघि हलो, पछिपछि बिगारो लगाउँदै रोप्नेरीहरुको लाइन लगाएर रोपाइँ जात्रा निकालिने परम्परा बसालिएकाे जात्रा समितिका धनराज सुनारले बताए।

'जात्रा महिलाकाे रुप धारण गरि सजिएर आउनेले बजार भरी राेपेकाे जस्ताे दृश्य देखाउँछन्,' उनले भने, 'याे फुर्सदकाे समयमा भरपुर मनाेञ्जन लिन जात्रा लगाउने परम्पराकाे थालनी भएकाे हाे।'

वि. सं. १९९३ सालदेखि जुम्लामा जात्रा प्रारम्भ भएको देखि नै गाइजात्रकाे दिनदेखि लगातार चार दिन जात्रा मनाउने र कृष्ण जन्माष्टमी हुँदै राम नवमीकाे दिन जात्रा विधिवत् रुपमा सकाउने गरिएकाे जात्रा समितिका सल्लाहकार चित्रलाल श्रेष्ठले बताए। 

उनले भने, 'यो जात्रा किसानले थकान मेट्ने र रमाइलो गर्ने पर्वका रुपमा लिने गरिएकाे छ।'

स्थानीय धोती चोलोको पहिरनमा स्याँकु ओढेर सदरमुकामको प्रशासन कार्यालय, बालमन्दिर हुँदै विजयनगर परिक्रममा गरी रोपाइँ जात्रा निकालिएको हो। रोपाइँ जात्रा हेर्न किसानहरुको अत्यधिक सहभागिता हुने गरेकाे पाइन्छ। 

जात्रा समितिका सल्लाहकार श्रेष्ठका अनुसार रोप्नेरीको नक्कल गर्दै चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रमा र दरबार मालिका दर्शन गरिसकेपछि बजारमा जात्रा सुरु हुन्छ। जुम्ली मार्सी धानको जगेर्ना गर्न रोपाइँ जात्रामार्फत सन्देश दिने जात्रा समिति कोषाध्यक्ष महेन्द्र कार्कीले बताए। 

'पछिल्लो चरणमा धान रोप्ने खेतमा वैकल्पिक खेती गर्न थालेपछि रोपाइँ जात्रामार्फत धानको जगेर्ना गर्न सन्देश दिँदै आएका छाैं,' उनले भने, 'उसाे त मार्सी धानकाे इतिहास निकै लामाे छ। तथापि १९६३ बाट यसलाई मनाेरञ्जनात्मक रुप दिन जात्राकाे माध्यम अपनाइयाे।'

परम्परादेखिको रोपाइँ जात्रालाई यहाँका किसानले विशेषरुपमा हेर्दै र मनाउँदै आएको संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।

'स्थानीयले जात्रालाई पर्वकाे रुपमा बुझ्न थालेका छन्,' उनले भने, 'फुर्सदकाे समयमा श्रमसँग गाँसिएका पर्व मनाउँदा नयाँ कपडा किन्ने, मिठा परिकार पकाएर खाने लगायतका काम गरिन्छ।' फुर्सदकाे समयमा किसानहरु रोपाइँ जात्राको पखाईमा बस्ने गरेकाे सल्लाहकार श्रेष्ठले थपे। 

'किसानको खुलदुली रोपाइँ जात्राले मेटाउँछ। सधैंभरी काममै व्यस्त रहने किसानलाई यो पर्व मनोरञ्जनको थलो बन्छ,' उनले भने, 'जात्रामा किसानहरु गाउँगाउँबाट तले राेगी, काँख्रा र अचार बाेकेर सदरमुकाम आउँछन्। जसले जात्राकाे राैनक बढाउने गरेकाे छ। जात्रा किसानकाे जमघट गर्नेफ आफन्त, नातागाेता, स्टकुटुम्ब भेठघाट गर्ने माध्यम पनि बनेकाे छ।

प्रकाशित मिति: : 2022-08-13 21:16:00

प्रतिकृया दिनुहोस्