परराष्ट्रमन्त्रीको कार्यक्रममा बालबालिकाको प्रयोग, स्वास्थ्य मापदण्ड पनि उल्लंघन

सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिनको लागि जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह  गरिरहेको छ।

घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेको छ। तर, कोरोना भाइरसविरुद्धको स्वास्थ्य मापदण्ड पालनामा सरकारका परराष्ट्रमन्त्री नै उदासीन देखिएका छन्।

केही समययता मुलुकमा कोरोना संक्रमणको दर निरन्तर बढ्दो क्रममा छ। तर, गत शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का तामझामका साथ पुल उद्घाटन गर्न उदयपुर पुगे।

पुल उद्घाटन गर्न उनीसहित प्रदेश १ सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की त्रियुगा नगरपालिका वडा नम्बर ६ मा रहेको सिस्वारी खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न गएका थिए।

उनीहरुले न त मास्कको प्रयोग गरे, न त सामाजिक दुरी नै। बरु स्थानीयको सहभागी कम भएको भन्दै विद्यालयका बालबालिकालाई कार्यक्रममा सहभागी गराए।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपनि सरकारका मन्त्रीहरुले नै सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेनन्।

‘नेताहरूले नै कानुन बनाउँछन्, अनि उल्लंघन पनि आफैँ गर्छन्,’ एक स्थानीयले भने, ‘सरकरका पराराष्ट्रमन्त्रीले कोरोनाको कुनै प्रवाह नगरी कार्यक्रममा आए।’

विद्यालयका बालबालिकाको प्रयोग

पराराष्ट्रमन्त्री डा. नारायण खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विद्यालय आएका बालबालिकाको प्रयोग गरिएको छ। स्थानीय विद्यालयमा अध्धयनरत १० वर्ष मुनिका सयौँ विद्यार्थीलाई प्रयोग गरिएको हो।

मन्त्री आउने भन्दै उनीहरुलाई पढाइ छाड्न लगाएर लगिएको थियो। टन्टलापुर घाममा विद्यार्थीहरुले मन्त्रीको भाषण सुनेर बसे।

 विद्यालय गएको समयमा राजनीति विशेषको कार्यक्रममा बालबालिकाको प्रयोग हुनु दुःखद रहेको स्थानीयहरुले बताएका छन्।

कार्यक्रममा स्थानीयको सहभागी कम देखिएपछि कांग्रेस-माओवादीका कार्यकर्ताले बालबालिकाहरुलाई भेला गराएका थिए। राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकार विरोधी क्रियाकलाप हो।

प्रकाशित मिति: : 2022-08-22 14:17:00

प्रतिकृया दिनुहोस्