ओजस थिएटरमा आजदेखि ‘असुर’ मञ्चन

काठमाडौँको रातोपुलमा रहेको ओजस थिएटरमा भदौ १५ गते दिउँसो नाटक ‘असुर’ मञ्चन हुदैँछ।

विवेक न्यौपानेले निर्देशन गरेका यस नाटकलाई रविन दोङले लेखेका छन्।

यस नाटकले २०५८ सालदेखि २०६३ भित्र भएका गतिविधिलाई चित्रण गरेको छ। नेपाली समाजले त्यतिबेला भोगेका भोगाइ, सर्वसाधारणको पीडा , परिवर्तन, उत्पीडन र दमनलाई नाटकमा उतारेको छ।

नाटक ‘असुर’ भदौ १५ देखि असोज ८ गतेसम्म मञ्चन हुने छ। यो नाटक बिहीबारबाहेक अन्यबार साढे ५ बजेसम्म मञ्चन हुने छ। साथै शनिबार १ बजे र साढे ५ बजे दुई ‘शो’ नाटक पनि मञ्चन हुने छ। यस नाटकको टिकट अनलाइनमार्फत बुकिङ पनि गर्न सकिन्छ।

यसका लागि ओजस फिल्मस्को वेवसाइट खोली अनलाइन फर्ममार्फत टिकट पाउन पनि सकिन्छ र ९८२८९३५२२४ मा सम्पर्क गरेर पनि टिकट प्राप्त गर्न सकिने छ।

निर्देशक न्यौपानेका अनुसार ‘असुर’ एउटा घर र देशको कथा हो जसमा सिद्धान्त र राज्य व्यवस्था फेरिए पनि मान्छेका अवस्था रुप र स्थिति नफेरिएको बारे देखाउन खोजिएको हो। साथै कथामा एकै परिवारका बुवा–छोरा र दुई पिँढीको विचार पनि कसरी मिल्दैनबारे देखाउन खोजिएको छ।

यस नाटकलाई हिन्दूधर्मलम्बीका अनुसार चित्रण गर्दा यो नाटक एउटा शक्तिको भोको पात्र हो , जो शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छ। कहिले देवता त कहिले दानव जस्तो रुप लिने गर्दछ। के हाम्रो समाजमा पनि यस्ता पात्रहरु छन् जसले शक्तिको लालचले राजनीतिक परिवर्तन गर्न नदिएर आममानिसको जीवनमा रुपान्तरण हुन दिएको छैन। यहिँ प्रश्न नाटक मार्फत केलाउने प्रयास गरिएको छ।

नाटककार दोङका अनुसार उक्त नाटकमा वि।सं  २०५८ देखि ०६२–०६३ साल सम्मको देशको परिवेशलाई देखाउने खोजिएको हो। साथै उत्पीडन र दमन विरुद्धको सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई समेत उक्त नाटकमा प्रष्ट पार्न खोजिएको छ।

उत्पीडित वर्गको पीडा र क्रान्तिको नाममा आमजनताले भोगेका दुःखाई तथा सास्ती नै यस नाटकको मुख्य अभिप्राय रहेको दोङले बताएका छन्। 
असोज ८ सम्म ओजस थिएटर मञ्चन हुने ‘असुर’ नाटकमा विभिन्न कलाकारहरुले भूमिका निर्वाह गरेका छन्।

नाटकमा सागर कार्की ‘नरेन्द्र’, सुचित्रा उप्रेती ‘कलावती’, प्रल्हाद खरेल ‘जुद्ध प्रसाद’, केशव सिंठगुन्ना ‘भिमसेन’, प्रलाद खरेल ‘जुद्ध प्रकाश’, प्रतिक दुलाल ‘प्रकाश’, नमस्ते दिवाकार घिमिरे ‘चन्द्रे, मेघनाथ’, सोफिया बज्राचार्य ‘मोना’, विजय सापकोटा ‘ज्वाला’, सन्तोषी पौडेल ‘सुनथाने कान्छी’, उज्वलराज ढकाल ‘पसले दाई’, श्याम कार्की ‘सुमन’, वीरेन्द्र सिंह कुशवाह ‘प्रभाकर’, अस्मिता ढकाल ‘माइली काकी’, शेखर दाहाल ‘उमाकान्त’, गंगा मगर ‘उषा’, विशाल परियार ‘अमृत’, लक्ष्मी राई ‘आस्था’, अनिल गुरुङ ‘बादल’, ओशन कार्की ‘चैते सुशील’, प्रशंशा गहतराज ‘देवी’ र शुक्रराज मगर ‘मगर कान्छा’ को भूमिकामा रहेका छन्।

चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको यस नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने भेषभुषाको जिम्मेवारी निशा गिरी, गंगा मगर र अस्मिता ढकालले सम्हालेका छन्।

प्रकाशित मिति: : 2022-08-31 10:15:00

प्रतिकृया दिनुहोस्