आउँदो मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा दाङ निर्वाचन क्षेत्रनम्बर २ बाट एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउँदै छ।
पोखरेल प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने पाक्का भएसँगै प्रदेशसभामा उनको सारथी को हुने भन्ने चासोको विषय बनेको छ।
प्रतिनिधिसभातर्फ पोखरेल उम्मेदवार हुने भएसँगै उक्त क्षेत्रमा अन्य आकांक्षीहरु देखिएका छैनन्। तर, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर (क) र (ख) मा उम्मेदवार बन्न आकांक्षीहरु धेरै देखिन्छन्। विशेष त प्रदेशसभा (क) मा भन्दा (ख) मा आकांक्षीहरु धेरै देखिएका छन्।
एमालेका एक जिल्ला नेताका अनुसार (क) मा प्रदेश कमिटी सदस्य बलिभद्र राना उम्मेदवार बन्ने निश्चित जस्तै भइसकेको छ। उनीभन्दा बलियो उम्मेदवार निर्वाचन क्षेत्रनम्बर २ (क) बाट अरु हुन नसक्ने ती नेताले बताए।
उनका अनुसार जिल्ला तहमा रानालाई नै उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ। निर्वाचन क्षेत्रनम्बर २ (क) बाट यसअघि २०७४ को निर्वाचनमा महासचिव पोखरेलले निर्वाचन जितेका थिए। (क) मा बंगलाचुली गाउँपालिकासहित घोराहीको ४, १३, १४, १५, १७, १८ र १९ नम्वर वडा पर्दछन्।
त्यस्तै निर्वाचन क्षेत्रनम्बर २ (ख) मा भने अहिलेसम्म तीन जनाको नाम चर्चामा छ। प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी र गिरिराज केसीसँगै एमाले घोराही नगर इन्चार्ज गेहेन्द्र बस्नेतको नाम अहिले चर्चामा छ। उनीहरुमध्ये कसले टिकट पाउने हुन् ? भन्ने नेताहरुको आ–आफ्नै विश्लेषण छ।
तर, वडा तहमा अबको निर्वाचनमा युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने माग आइरहेको एमालेका एक जिल्ला नेताले बताए। ‘देशमा नै युवा नेताको चर्चा भइरहेको छ। वडा तहबाट पनि कुराहरु युवा नेता नै निर्वाचनमा आउनुपर्ने धारणाहरु आइरहेको छ,’ ती नेताले भने, ‘वडा तहका नेताहरुको माग सुनियो भने (ख) बाट गेहेन्द्र उम्मेदवार बन्ने देखिन्छ।’
उनले पनि गेहेन्द्र उम्मेदवार भए हुनुभयो भने निर्वाचन जित्न सहज हुने बताए। किनभने युवा नेतासँगै गेहेन्द्र बस्नेत मिलनसार नेताका रुपमा रहेको उनको विश्लेषण छ। बस्नेत उम्मेदवार भएमा स्वतन्त्र मतदाताहरुलाई तान्न सक्ने ती नेताले बताए।