धान गोढेर फर्कंदै गर्दा आफन्ताबाटै एकै परिवारका तीन जनाको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ। उदयपुर बेलका नगरपालिका ७ मैनामैनीस्थित गोधाटारमा शुक्रबार दिउँसो तीन जनाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० वर्षीय राजकुमार बस्नेत, ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या भएको हो।

प्रहरीले हत्यामा संलग्‍न रहेको आरोपमा नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ। पक्राउ परेका नरबहादुर मृतक राजकुमारका नजिकका नातेदार हुन्।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले खोला किनारको खेतमा धान गोढेर फर्कने क्रममा शुक्रबार बिहान साढे १० बजेतिर हत्या भएको बताए।

राजकुमारलाई खेतमा जाँदै गरेको अवस्थामा चौबाटे कुलो र आमाछोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। सरिता र सुजनको शव खोलामा भेटिएको थियो भने राजकुमारको शव केही माथि भेटिएको थियो।

पुरानो रिसिइबीका कारण नरबहादुरले तीनै जनाको हत्या गरेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-02 18:31:00

प्रतिकृया दिनुहोस्