जुम्लाको खाद्य संस्थानमा चामल छैन

File Photo
File Photo

जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाको गोदाम रित्तिएको छ।

ठेकेदारले समयमै खाद्यान्न ढुवानी नगर्दा हाल ३ सय २५ क्विन्टल चामल मात्र मौज्दात छ। सिमित मौज्दातको खाद्यान्नलाई आपत्कालीन अवस्थाका लागि जगेडा राखिएपछि स्थानीयले ढुवानी अनुदानको चामल पाउन सकेका छैनन्।

हाल जुम्लामा रहेको ३ सय २५ क्विन्टल चामल पनि कारागारका कैदीबन्दीको लागि हो भने एक सय क्विन्टल बास्मती चामल मौज्दात छ। तर उक्त चामल पनि आपत्कालीन अवस्थाका लागि राखिएको छ। 

कारागारका लागि चाहिने मध्यम चामल र बास्मती चामलबाहेक सबै प्रकारको चामल सकिएको लिमिटेडका शाखा प्रमुख निर्मल विष्टले बताए।

उनका अनुसार खाद्यमा २० किलो बास्मती चामलको मूल्य २ हजार ३ सय रुपैयाँ पर्छ। कम्पनीको शाखामा अरुवा मोटो, मकवानपुर, मध्यम, सोना, स्टिम जिरा र बास्मती चामल आउने गरेको छ। 

जुम्लाका लागि ६ हजार क्विन्टल वार्षिक कोटा तोकिएको छ। जसमध्ये १३ सय क्विन्टल डोल्पाका डिपोहरूमा पठाइन्छ। बचेको ४ हजार ७ सय क्विन्टल चामलले ७ देखि ८ महिना धान्छ। 

‘चामल अपुग हुँदा हरेक फागुन महिनामा थप कोटा माग गरिरहेका हुन्छौं, प्रमुख विष्टले भने, ‘यो पटक २ हजार ५ सय क्विन्टल चामलको कोटा थप भएको थियो।’

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि ठेकेदारले चामल ढुवानी गर्न ढिलाइ गरिरहेको उनले बताए।

अहिले दैनिक ४० देखि ५० जनासम्म सेवाग्राही चामल किन्न आउने गरेका छन्। ‘चामल नभएपछि सेवाग्राहीलाई रित्तो हात फर्काउन बाध्य छौं, उनले भने, ‘थपिएको २ हजार ५ सय क्विन्टल चामल आएको भए दसैंसम्म राम्रैसँग बेच्न मिल्थ्यो।’

कम्पनीका अनुसार यो वर्ष चामल ढुवानीको जिम्मेवारी खड्का निर्माण सेवाले लिएको थियो। छिटोमा भदौ १५ सम्म र ढिलोमा असोजको पहिलो सातासम्म चामल आइपुग्ने उनले जानकारी दिए। जुम्लाको धापा र जुम्लाकोट डिपो पनि झन्डै ६ महिनादेखि खाली छन्।

प्रकाशित मिति: : 2022-09-04 13:38:00

प्रतिकृया दिनुहोस्