युवा संघ नेपालकाे महाकाली-मेची युवा जागरण अभियान दाङमा

युवा संघ नेपालद्वारा आयोजित महाकाली-मेची युवा जागरण अभियान आज दाङको लमहीमा पुगेर कार्यक्रम गरेको छ।

अभियानको सन्दर्भमा आइतबार बिहान १० बजे करिब ५०० जनाको उपस्थितिमा कोणसभा गर्नुका साथै सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो।

अभियानमा केन्द्रीय अभियान टोलीका सदस्यहरू बिना विश्वकर्मा, सुवर्ण दुलालले पार्टी र युवा संघका गीतमा नृत्य प्रस्तुत गरेका थिए।

अभियान लमहीको कार्यक्रम सकेर भालुबाङ हुँदै चनौटा जाने युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताए। 

कार्यक्रममा वक्ताहरूको  रुपमा युवा संघका स्थाई कमिटी सदस्य हरिस गिरि, कोषाध्यक्ष दीपक दुवाडी, नेकपा (एकीकृत समाजवादी) दाङका नेताहरू जिल्ला अध्यक्ष चुडामणि, मिना गुरुङ, पार्टी केन्द्रीय सचिव भागवत विश्वासीले सम्बोधन गरेका थिए।

‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो। महाकालीबाट सुरु गरिएको युवा जागरण अभियान मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-04 15:13:00

प्रतिकृया दिनुहोस्