प्रतिनिधिसभाका लागि मोरङमा कुन दलबाट को-को सिफारिस?

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेका छन्।

६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।

दलहरुले सर्वसम्मत गर्न सकेको क्षेत्रमा सर्वसम्मत नाम सिफारिस गरेका छन्। अधिकांश क्षेत्रमा पुरानै नेताको नाम सिफारिस भएको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले ५ जनाको नाम सिफारिस गरेको छ। एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेसले संविधानसभा सदस्य डिगबहादुर लिम्बूसहित चार जनाको नाम सिफारिस गरेको छ। सो क्षेत्रबाट कांग्रेसले लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको छ। माओवादीले भने यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका घनश्याम खतिवडा विजयी भएका थिए। एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडासँग कांग्रेसका डिगबहादुर लिम्बू पराजित भएका थिए।

मोरङ २ मा एमालेले संविधानसभा सदस्य ऋषिकेश पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ। पोखरेल एमाले मोरङका जिल्ला अध्यक्षसमेत हुन्। २०७० को निर्वाचनमा कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भए।

२०७४ मा मोरङ २ बाट विजयी भएका रिजाललाई पुनः यसपटक पनि सिफारिस गरिएको छ। कांग्रेसले रिजालसहित सुजता कोइरालालाई सिफारिस गरेको छ।

माओवादीले भने गणेश उप्रेतीलाई सर्वसम्मत सिफारिस गरेको छ। २०७० को निर्वाचनमा पराजित भएका उप्रेती २०७४ को निर्वाचनमा भने मोरङ २ (क) बाट प्रदेशसभामा उम्मेदवार थिए। एमाले माओवादीको गठबन्धनबाट उम्मेदवार रहेका उप्रेती कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए।

मोरङ क्षेत्र नम्बर ३ मा एमाले र कांग्रेस दुवैले सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेका छन्। एमालेले भानुभक्त ढकाल र कांग्रेसले सुनिल शर्माको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा यी दुई प्रतिस्पर्धि थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका ढकाल विजयी भएका थिए।

क्षेत्र नम्बर ३ बाट माओवादीले सावित्रीकुमारी काफ्ले, खेम सुन्दास र खेम भट्टराईको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ।

२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट विजयी भएका अमनलाल मोदीलाई माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमालेले पनि केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गरेको छ।

कांग्रेसले यस क्षेत्रबाट ५ जनाको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा मोदीसँग पराजित भएका महेश आचार्यसहित अमुत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ।

मोरङ ४ बाट सिफारिस भएका कांग्रेस नेता अमृत अर्यालको नाम मोरङ क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ। सो क्षेत्रबाट अर्यालसँगै हसन अन्सारीको पनि नाम सिफारिस भएको छ।

२०७४ को निर्वाचनमा अमृत अर्याल यही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए। अर्याल नेकपा माओवादीका शिवकरमार मण्डलसँग पराजित भएका थिए। नेकपा माओवादी केन्द्रले यसपटक पनि मण्डलको एकल नाम सिफारिस गरेको छ।

एमालेले समाजिक अभियन्ता योगेन्द्र मण्डलसहित मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालको निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसले चार जनाको नाम सिफारिस गरेको छ। यस क्षेत्रबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ।

यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए। एमालेले यसपटक पण्डितसँगै टिकाराम पुरीको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्रले हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ।

प्रकाशित मिति: : 2022-09-04 22:00:00

प्रतिकृया दिनुहोस्