बेलायतमा सुनाकले गुमाए भारतीय मुलको पहिलो प्रधानमन्त्री बन्ने अवसर

बेलायतमा पहिलो भारतीय मुलको प्रधानमन्त्री बन्ने अवसर गुमेको छ । कन्जरभेटिभ दलबाट प्रधानमन्त्री बन्ने अन्तिम चरणमा पुगेका दुईमध्ये एक भारतीय मूलका  ऋषि सुनाकको पराजयसँगै यो अवसर गुमेको हो । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पदबाट राजीनामा दिएपछि बाँकि कार्यकालका लागि प्रधानमन्त्री हुने टोरी नेता दौडको अन्तिम दुईमा बर्तमान विदेशमन्त्री लिज ट्रस र पूर्व अर्थ कृषिमन्त्री ऋषि सुनाक आम्नेसाम्ने थिए । 

पार्टीका सांसदहरूको मतदानमा ऋषि सुनाक सबै पाँच चरणमा अगाडि थिए । पाँचौ चरणमा सुनाकले एक सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रस एक सय १३ मत पाए। पछि परेकी थिइन् ।

तर, पार्टीको नेता छनोट गर्ने १९२२ कमिटीले गरेको अन्तरपार्टी निर्वाचनमा ट्रसले सुनाकलाई २० हजार नौ सय २७ मतले पछि पार्दै बाजी मारिन् । ट्रसले ८१ हजार तीनसय २६ मत पाउँदा सुनाकले ६० हजार तीनसय ९९ मत मात्र पाए ।

९० प्रतिशतभन्दा बढी श्वेत रूढीवादी सदस्य रहेको टोरी पार्टीमा ट्रसले नै जित्ने पूर्वअनुमान थियो , नभन्दै त्यस्तै परिणाम निस्कियो । 

चुनावमा ट्रसले आफू शक्तिमा आए आपत्कालिन बजेटमार्फत अर्बौं पाउन्ड कर कटौती गर्ने वाचा गरेकी थिइन् । यही वाचालाई विश्वास गरेर टोरी मतदाताहरूले उनलाई जिताए । निवर्तमान अर्थमन्त्री सुनाकले भने ऊर्जा बिलमा एक वर्षका लागि भ्याट कटौती गर्न सकिए पनि  मुद्रास्फीति तल नझरेसम्म स्थायी कर कटौती गर्न नसकिने बताएका थिए ।

बेलायत बढ्दो मुद्रास्फीति, ऊर्जा संकट, अकासिएको महंगी, आर्थिक संकटजस्ता समस्याहरूबाट गुज्रिरहेको छ । 

बेलायतको तेस्रो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित ४७ वर्षीय लिज ट्रसले लिबरल डेमोक्र्याटिक पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन् । बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी उनी पछि कन्जरभेटिभ पार्टीमा सक्रिय भइन् । ब्रेक्जिटको समयमा बेलायत युरोपियन युनियनमै रहनुपर्छ भन्ने पक्षमा रहेकी उनले पछि त्यो मत पनि परिवर्तन गरेकी थिइन् ।

पटकपटक आफ्नो अडान फेर्ने नेताका रूपमा रहेकी लिज ट्रसलाई बोरिस जोन्सनलगायतका अति दक्षिणपन्थीहरूको समर्थन थियो । यही समर्थनका कारण अहिलेको अवस्थामा  सुनाक नै बेलायतका लागि सक्षम प्रधानमन्त्री हुने भए पनि ट्रसले चुनावी बाजी मारिन् । 

४२ वर्षीय सुनाकले आफ्नो हारलाई स्वीकार्दै ट्रसलाई वधाइ दिएका छन् । उनले प्रधानमन्त्रीको दौड सकिएको भन्दै सबै टोरीहरू एकवद्ध भएर आर्थिक संकटमा रहेको देशलाई निकास दिनुपर्ने बताएका छन् । 

टोरी पार्टीमा पछि परे पनि आम बेलायतीबीच ट्रसभन्दा लोकप्रिय रहेका सुनाक २०२४ हुने आम निर्वाचनमा उनको पार्टीले जिते प्रधानमन्त्रीका प्रवल दाबेदार हुन् । बेलायतमा पार्टीको नेता नै प्रधानमन्त्रीको उम्मेद्वार हुने संवैधानिक परिपाटी छ । 

प्रकाशित मिति: : 2022-09-05 23:39:00

प्रतिकृया दिनुहोस्