प्रहरीबाट कसरी भाग्न सफल भए सुन चोरी आरोपित बन्दी?

दाङमा हिजो (विहीबार) साँझ अदालतबाट सुन चोरी आरोपमा पक्राउ परेका एक बन्दी भागेको समाचार बाहिरियो। 

घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा प्रहरीको आँखा छलि भागेपछि समाचारले तहल्का मच्चायो। 

सञ्चारमाध्यममा समाचार छ्यापछ्प्ती भए। प्रहरीको आँखाबाट ती बन्दीले कसरी छल्न सके त भन्ने प्रश्न भने अझै छ। प्रहरीले पहिले अदालतको शौचालयबाट बन्दी विश्वकर्मा भागेको बताए पनि पछि वकिल कार्यालयबाट भागेको जानकारी दियो। 

विश्वकर्मा बुधबार घोराही–१० नारायपुरबाट सुनचोरीको आरोपमा पक्राउ परेका थिए। उनलाई म्याद थपका लागि प्रहरीले वकिल कार्यालय हुँदै अदालतसम्म लग्दै थियो। उनीसहित जिल्ला प्रहरी कार्यालयबाट १८ जना बन्दीलाई प्रहरीले अदालत लगेको थियो। 

१८ जनाका लागि मात्र २१ जना प्रहरी थिए। केहि प्रहरीले अदालतमा हाजिर गराउनु पर्ने बन्दीलाई लगे भने केहिले वकिल कार्यालयमा बन्दीहरुलाई लगे। जसमध्ये विश्वकर्मालाई वकिल कार्यालयमा लगिएको थियो। 

सोहि समयमा उनले पेट खायो भनेर शौचालय जाने भने। एक जना प्रहरीले उनलाई शौचालय भित्र पु¥याए र आफू बाहिर कुरे। तर शौचालय भित्र गएका बन्दी विश्कर्मा लामो समयसम्म फर्किएनन्।  

अनि हल्लाखल्ला भएपछि शौचालयको ढोका फोडेर हेर्दा बन्दी त्यहाँ भेटिएनन्। उनी शौचालयको सिसाको झ्याँल फुटाएर वकिल कार्यालयको दुई ताल माथिबाट हाम फालेर भागेछन्। ‘पेट खायो भनेर बन्दीले भनेपछि उनलाई शौचालय लगिएको रहेछ, लामो समयसम्म नफर्किएपछि ढोका फोडेर हेर्दा ऊ सीसाको झ्याँल फोडेर दुई तलामाथिबाट भागेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीले भने।

त्यसपछि उनको खोजिका लागि बिहीबार साँझ घोराही बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भएपनि पत्ता लाग्न सकेन। शुक्रबार विहान ९ बजेसम्म पनि भागेका बन्दी पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। 

उनकाअनुसार सीसीटिभी फुटेजमा दुई तलामाथिबाट हाम फालेर भागेको देखिएको छ। त्यसपछि उनी वकिल कार्यालयको पर्खाल नागेर गएको पनि देखिएको छ। विश्वकर्माको खोजिका लागि सीमा नाकाहरुमा निगरानी बढाइएको डिएसपी गौतमले बताए। 

उनले केहि दिनका बन्दी विश्वकर्मालाई आफूहरुले छिट्टै पत्ता लगाउने दाबी पनि गरे।

प्रकाशित मिति: : 2022-09-09 09:12:00

प्रतिकृया दिनुहोस्