कर्णाली प्रतिष्ठानका आन्दोलनरत डाक्टरहरु काममा फर्किए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।

५९ जना डाक्टरहरुले दिएको सामुहिक राजीनामा फिर्ता लिँदै नियमित काममा फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले बताए।

'सबै राजनीतिक दलहरुले डाक्टरहरुको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने सहमति भयाे,' उनले भने, 'संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि डाक्टरहरु नियमित काममा फर्कनुभयाे।'

उनका अनुसार प्रतिष्ठानमा डाक्टहरुले इर्मेजेन्सीबाहेक ठप्प पारेका सबै सेवाहरु नियमित रुपमा शुक्रबारका दिनबाट सुचारु हुनेछन्।

भयरहित वातावारणमा डाक्टरहरुले काम गर्ने पाउनु पर्ने माग राखेको र उक्त माग आगामी दिनमा सबै जुम्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार र प्रहरी प्रशासनले उपलब्ध गराउने प्रतिवद्धता गरेपछि डाक्टरहरु नियमित काममा फर्किएको उनकाे भनाइ छ।

'डाक्टरहरुले जुम्लामा बसेर सहज रुपमा सेवा गर्ने वातावारण उपलब्ध गराइ दिन आम जुम्लाबासीकाे कर्तव्य हाे,' उनले भने, 'जुम्ली जनताको सेवा गर्न आएका डाक्टरमाथि गरिने व्यवहारले प्रतिष्ठान र सिंगो जुम्लाको संस्कार माथि प्रश्न उठ्नेछ। त्यसकारण हामीले यस्ताे गर्नुभएन।'

प्रकाशित मिति: : 2022-09-09 10:43:00

प्रतिकृया दिनुहोस्