चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ।
नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको हो।
सिमराको जीतमा विवेक चौधरीको दुई तथा सृजन गौतमको एउटा गोल सामेल थियो। मकवानपुरका लागि सुजन गुरुङले सान्त्वना गोल गरेका थिए।
सिमराका लागि चौधरीले खेलको १७औँ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै खेलको २४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई २–० गोलको अग्रता दिलाए।
मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन ग¥यो। खेलको ४७औँ मिनेटमा मकवानपुरका लागि गुरुङले सान्त्वना गोल गरेका थिए।
खेलको ७०औँ मिनेटमा सिमराका लागि गौतमले गोल आफ्नो टोलीलाई विजयी दिलाए। सिमराका चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले रु १० हजार पुरस्कार प्राप्त गरे।
सोमबार मनाङ एफसी र सर्लाहीको बागमती नगरपालिकाबीच खेल हुनेछ। भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।