वडाध्यक्ष महताराकाे पहलमा साउदीमा अलपत्र परेका नाै जना युवाकाे उद्धार

गुठीचाैर गाउँपालिका -१ का वडाध्यक्ष अर्जुनकुमार महताराकाे पहलमा साउदीबाट नाै जना युवाहरुकाे उद्धार गरिएकाे छ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका -१ का ९ युवकहरूको उद्धार गरिएको हाे।

एक महिनादेखि हारगुहार गरिरहेका उनीहरुको लामाे समयकाे कसरतपछि उद्दार गरिएको वडाध्यक्ष महताराले जानकारी दिए।

साउदीमा अलपत्र पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका-१ का निराजन थापा, डिलबहादुर रोकाया, शान्तबहादुर रोकाया, खडग रोकाया, लक्ष्मीबहादुर रोकाया, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाया र जनक बुढा रहेका छन्।

'उनीहरुलाई नेपालबाट ब्लु ग्यालेक्सी नामक कम्पनीले राम्रो तलब दिने स्वार्थमा साउदीस्थित क्यु सीएम कम्पनीमा पठाएको थियो। तलब राम्रो दिन्छौं। कुनै गडबडी हुँदैन भनेर साउदी पठायो,' अलपत्र परेको जुम्ली युवाको भनाइ उदृध गर्दै वडाध्यक्ष महताराले भने।

हाल आएर उनीहरु भनेजस्ताे काम पाउन नसकेपछि अलपत्र परेकाे वडा अध्यक्ष महताराले बताए। उनले भने, 'उनीहरुले जुन कामका र तलबका लागि भनेर नेपालबाट लगिएकाे त्याे अनुसार काम नभएकाे बताए। अर्कै काममा लगाएर तलब पनि नपाएपछि अलपत्र परेकाे खबर गरे।'

नेपालदेखि उनीहरूलाई बैंक र अस्पताल क्लिनरको रुपमा पठाइएको थियो। तर साउदीमा आर्मी ब्यारेकमा लगाइयो। एक हजार साउदी रुपैयाँ पारिश्रमिक दिने भनिएकोमा ८ सय मात्रै दिने भनियो। त्यो पनि महिना पुगेपछि नदिएपछि अलपत्र परेको उनीहरूले बताएका छन्।

उनीहरूले आठ महिना काम गरेकोमा ६ महिनाको मात्र पारिश्रमिक पाएको बताएका छन्।

उनीहरू सबै जना ११ सेप्टेम्बरमा अर्थात अर्काे आइतबार नेपाल आइपुग्दैछन्। नेपाल आइसकेपछि 'ब्लु ग्यालेक्सी'मेनपावर कम्पनीविरुद्ध वडाअध्यक्ष महताराको नेतृत्वमा उजुरी दिने तयारी भइरहेको छ।

एक महिना अलपत्र परेका जुम्ली युवाहरू नेपाल आउने भएपछि निकै उत्साही भएका छन्। उनीहरूले जुम्लामै माटोमा केही इलम गरेर बस्ने बताए।

'झुटो धन्दा गरी युवाहरूलाई साउदीमा अलपत्र पार्ने मेनपावर कम्पनी र कम्पनीका 'दलाल'हरुलाई कारबाहीका लागि पहल गरिनेछ,' वडाध्यक्ष महताराले भने।

यस क्रममा वैदेशिक रोजगार विभागले तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: : 2022-09-12 15:21:00

प्रतिकृया दिनुहोस्