साविक उमावि शिक्षकहरुकाे आन्दोलन सुरु: कालोपट्टी बाँधेर अध्यापनमा

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) नेपालले आन्दोलन शुरु गरेको छ।

आन्दोलनको पहिलो दिन देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले मंलबार हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन्।उनीहरुले भदौ २६ र २७ गते संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई माग संवोधनका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए।

देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउनु पर्ने, शिक्षक दरबन्दी र व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने, उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने साबिकको उमावि शिक्षकहरुको माग रहेको हिस्टुन जुम्लाका अध्यक्ष जगदीश न्यौपानेले बताए।

नेपालको संविधान २०७२ बमोजिम माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क भनिएपनि साविक उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेका छन्,' उनले भने, 'आन्तरिक स्रोतबाट तलव खाने शिक्षकलाई भने कम तलव दिने जस्ता कार्य बन्द गर्नुपर्ने हाम्रो माग छ।'

पेशागत स्थायित्व कायम गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकहरुलाई अविलम्ब दरबन्दीमा परिणत गर्नुपर्ने साबिक उमावि शिक्षकहरुको माग छ।

दरबन्दी र अनुदानमा कार्यरत शिक्षकहरुलाई सरकारले निकासा गरेको पूरै रकम नदिएर कतिपय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम रकम दिने गरेका भन्दै त्यस्तालाई कारवाही गरेर शिक्षकले पूरा रकम पाउनु पर्ने व्यवस्था गर्न पनि हिस्टुनले सरकारसँग माग गरेको छ।

सामुदायिक उच्च माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रकृयाबाट स्थायी गर्न, निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समेत विद्यालयको अभिलेख अनुसार समय गणना गर्न तथा निजामती कर्मचारी, सेना र प्रहरीको जस्तै गरी शिक्षकहरुको पनि स्वास्थ्य बीमा गर्न माग गरिएको अध्यक्ष न्यौपानेले बताए।

सबिक उमावि शिक्षकहरुका सबै मागहरु संवोधन नभएसम्म आन्दोलन जारी राख्ने केन्द्रीय कार्यक्रम रहेको हिस्टुन जुम्लाका अध्यक्ष न्यौपानेले थपे।

प्रकाशित मिति: : 2022-09-13 12:05:00

प्रतिकृया दिनुहोस्